धर्मस्थलीका वडाध्यक्ष भन्छन्ः हेल्पिंग हेण्ड्सले अस्पताल चलाउन नसकेर बन्द गरेको हो

तारकेश्वर, १० भदौ । तारकेश्वर नगरपालिका वडा नं ६ स्थित तत्कालिन हेल्पिंग हेण्ड्स अस्पतालको भवनमा वडा कार्यालय बसेको विषयमा विवाद निस्किएपछि स्थानीय जप्रतिनिधिले त्यसको खण्डन गरेका छन् ।

अस्पताल मासेर वडा कार्यालय भन्ने शीर्षकमा तारकेश्वर अनलाईनमा समाचार प्रकाशित भएपछि तानपा ६ धर्मस्थलीका वडाध्यक्ष मधु कार्कीले अस्पताल मासेको नभै अस्पताल बन्द भएपछि रित्तो भएको भवनमा वडा कार्यालय राखिएको बताए ।

‘हेल्पिंग ह्याण्ड्स भन्ने अस्पतालले ३७ लाख लगानीमा भवन बनाएको हो । हामी स्थानीयले समेत दुईपटक श्रीमदभागवत सप्ताह लगाएर अस्पताल चलाउन खोजेको हो । तर, अस्पताल नचलेपछि हेल्पिंग हेण्ड्सले शाखा बन्द गरेर गएको हो ।’ उनले भने ।

प्राथमिक स्वास्थ्य निःशुल्क स्थानीय सरकारी संस्थाबाट पाइने र विशेषज्ञ डाक्टर भेट्न भित्री काठमाडौं जाने प्रचलन हुँदा धर्मस्थलीको अस्पताल सञ्चालन हुननसकेको उनको भनाइ छ ।

सर्वदलीय सहमतिमा वडा कार्यालय
भूकम्पपछि अस्पतालको खाली भवनमा वडा कार्यालय राख्ने सर्वदलीय सहमति भएको वडाध्यक्ष कार्कीको दावी छ । ‘भूकम्पपछि माथिको तत्कालिन धर्मस्थली गाविस भवनमा नगरपालिका आएसँगै सबै दलको सहमतिमा वडा कार्यालय अस्पताल बन्द भएको भवनमा ल्याइएको हो ।’  उनले थपे ।

१५ शैयाको स्वीकृति पाएको थाहा छैन
वडाध्यक्ष कार्कीले तत्कालित स्वास्थ्यमन्त्री गगन थापाको पालामा १५ बेडको नगर अस्पतालका रुपमा स्वीकृति आएको भन्नेबारेमा आफुलाई जानकारी नभएको बताएका छन् । उनले अगाडी थपे, ‘स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएको भए त मन्त्रालयले पहल गर्नुपर्ने होनी ।’ उनले स्वास्थ्य मन्त्रलायसँग नगरले पछिल्लो समय नगर अस्पतालका लागि समन्वय गरेर बंगलामुखी क्षेत्र नजिकैको नगरपालिकाको जग्गा उपलब्ध गराउने बताएको र त्यसको पहल भैरहेको वडाध्यक्ष कार्कीले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।

धर्मस्थलीमा रहेको तत्कालिन हेल्पिंग हेण्ड्स अस्पतालको भवनमा अस्तपताल नै बनाउनुपर्ने भन्दै केही स्थानीयले आवाज उठाएसँगै यो विषय बहसमा आएको हो ।