तारकेश्वरमा आइसोलेसन बनाउन सांसद भीमसेनदास प्रधानले सहयोग गर्ने

तारकेश्वर, ११ भदौ । लामो समयदेखि बहस भएरपनि आइसोलेसन व्यवस्थापन गर्न नसकेको तारकेश्वर नगरपालिकामा काठमाडौं क्षेत्र नं ६ का सांसद भिमसेनदास प्रधानले सहयोग गर्ने बताएका छन् ।

बुधवार काठमाडौं सांसदहरुको संयुक्त बैठकले सांसद विकास कोषको पैसा राजधानीमा आइसोलेसन सेन्टर बनाउन खर्च गर्ने सहमति गरको थियो । बैठकको संयोजन गरेका क्षेत्र नं ६ का सांसद भिमसेनदास प्रधानले तारकेश्वर अनलाईनसँग कुरा गर्दै आफ्नो कोषमा भएको रकमबाट तारकेश्वर नगरपालिकामा आइसोलेसन बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

‘अहिलेको अवस्थामा अन्य विकास भन्दा कोरोना महामारीसँग जुध्न पर्ने अवस्था छ । यस्तो अवस्थामा काठमाडौंमा मात्र कम्तिमा १० हजार शैयाको आइसोलेसन बनाउनुपर्ने देखिएको छ ।’ सांसद प्रधानले भने ।

सांसद प्रधानले संयोजन गरेको बुधवारको बैठकमा सांसद शशी श्रेष्ठ, विन्दा पाण्डे, गगनकुमार थापा, भीमसेनदास प्रधान, दीव्यमणि राजभण्डारी, रामकुमारी झाक्री, कृष्ण गिरी लगायत सहभागी थिए ।

तारकेश्वर नगरपालिकाले नगरमा कोरोना संक्रमितको संख्या उकालो लागिरहँदा हालसम्म आइसोलेसन सेन्टरको व्यवस्थापन गर्न नसकिरहेका बेला सांसद विकास कोषको सहयोग महत्वपूर्ण हुने देखिएको छ ।