तारकेश्वरको आइसोलेसन : साँढे सातलाख खर्चमा बेड र म्याट्रेस किनियो

काठमाडौं, भदौ ११ । मेयरले कोरोना संक्रमण भए सशस्त्र प्रहरीको अस्पताल जानुपर्ने वक्तव्य दिएको भोलिपल्ट तारकेश्वर नगरपालिकाले आइसोलेसन सञ्चालनको  तयारी अन्तिम चरणमा पुगेको दावी गरेको छ ।

नगरका प्रवक्ता विदुर सापकोटाका अनुसार आइसोलेसनमा अस्पतालमा प्रयोग हुने प्रकृतिको १४ वटा वेड राखिएको छ। त्यस्तै, १४ वटा फर्मको वेड राखिएको छ। थप फर्मको प्रकृतिको वेडको लागि आवश्यक सामाग्री ल्याइसकेको प्रवक्ता साप्कोटाले जानकारी दिएका छन् ।  ‘अझै वेडको व्यवस्थापन गर्न बाँकी छ। तर इमर्जेन्सी पर्यो भने ५० जनासम्म यहीँ राख्न सकिन्छ अन्त लैजान पर्दैन,’ उनले भने।

वडा नम्बर १ साङ्लामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरले आइसोलेसन बनाउन लागेको हो। केन्द्रमा रहेको ओपिडी सेवा र बर्थिङ सेन्टरलाई अन्यत्र सारे १ सय वेडको आइसोलेसन बनाउन सकिने सापकोटा बताउँछन्।

‘ओपिडी सेवा र बर्थिङ सेन्टरलाई हामी सामुदायिक भवन वा वडामा सार्न खोजेका छौं। सारियो भने १ सय वेडको आइसोलेसन बनाउन सकिन्छ,’ उनले थपे ।
सापकोटाका अनुसार क्वारेन्टाइन व्यवस्थापनका लागि भनेर नगरले वेड, म्याट्रेस, फर्म लगायतका सामाग्री किनेको छ। त्यसको लागि नगरको ७ लाख ६५ हजार खर्च गरेको छ। त्यही सामाग्री आइसोलेसनमा प्रयोग गरिएको हो।

आइसोलेसनकै लागि छुट्टै खर्च अहिलेसम्म नभएको प्रवक्ता साप्कोटाले जानकारी दिए। उनका अनुसार नगरमा भएको १४ कर्मचारीलाई नै प्राथमिक स्वास्थ्य केन्द्र र आइसोलेसनमा बाँडफाँड गरेर खटाइएको छ।