तारकेश्वर नगरपालिकाको कोभिड फोकल पर्सनमा डा. पाण्डे
तारकेश्वर, १२ भदौ । तारकेश्वर नगरपालिकाको कोभिड फोकल पर्सनमा डा. उदेश पाण्डे तोकिएका छन् ।
नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गर्दा संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिंगमा समन्वय गर्नेगरि डा. पाण्डेलाई स्वास्थ्य मन्त्रालयले खटाएको हो । सरकारी छात्रवृत्तिमा कलेज अफ मेडिकल साइन्सेस भरतपुरबाट एमबीबीएस अध्ययन सकाएर दुईवर्षे अनिवार्य सरकारी सेवामा रहेका डा. पाण्डे यसअघि क्षेत्रपाटी परिवार कल्याण केन्द्रमा कार्यरत थिए । उनले शुक्रबारबाटै तारकेश्वर नगरपालिकामा काम सुरु गरेका छन् ।
नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै डा. पाण्डेले संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिंग गरि परीक्षण र उपचारको पहुँचमा ल्याउन सबै सरोकारवालाहरुले समन्वयमा काम गर्नुपर्ने बताए ।
कोरोना भाइरस र अन्य मौसमी भाइरलको लक्षण उस्तै हुने भएकाले धेरै आतंकित नभै परीक्षण गर्नुपर्ने उनको भनाइ छ । डा. पाण्डेले नगरपालिकाको स्वास्थ्य शाखासँग समन्वय गर्दै यहाँको विवरणलाई स्वास्थ्य मन्त्रालयसमक्ष पुर्याउने अधिकारीका रुपमा काम गर्नेछन् ।