तारकेश्वर नगरपालिकाका प्रमुख बोहोरा भन्छन्ः उपत्यकामा एकीकृत आइसोलेसन बनाउनुपर्छ
तारकेश्वर, १२ भदौ । तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराले उपत्यकामा एकीकृत आइसोलेसन बनाउन आफुहरुले पहल गरिरहेको बताएका छन् ।
नगरपालिकाले शुक्रवार आयोजना गरेको पत्रकार अन्तक्र्रिया कार्यक्रममा प्रमुख बोहोराले सबै स्थानीय तहले सुविधासम्पन्न आइसोलेसन बनाउने र संक्रमित व्यवस्थापन गर्दै गुणस्तरीय उपचार दिन नसक्ने भन्दै एकीकृत आइसोलेसन बनाउने पहल भैरहेको बताए । उनले भने ‘एकीकृत आइसोलेसन भयो भने सीमित जनशक्तिले नै व्यवस्थापन गर्न सकिन्छ भनेर मेयर फोरमले यस विषयलाई अघि बढाएको छ । त्यसमा हामीले आफ्नोतर्फबाट गर्नुपर्ने खर्च गर्छौं ।’
यद्यपी नगरप्रमुख बोहोराले सांग्लामा तत्कालका लागि ५० शैयाको आफ्नै आइसोलेसन तयार भएको भन्दै सिकिस्त नभएका संक्रमितलाई व्यवस्थान गर्न सकिने बताए । लक्षण नदेखिएका संक्रमितले घरमै आइसोलेसनमा बस्दा थप सहज हुने प्रमुख बोहोराको भनाइ छ ।
उनका अनुसार नगरपालिकाले संक्रमण जोखिम घटाउनलाई कन्ट्याक्ट ट्रेसिंग र पीसीआर परीक्षणमा जोड दिएको छ । जस अनुसार नगरले हालैको कार्यपालिका बैठकबाट नगरले नै १ हजार थान किट किन्ने निर्णय गरेको छ ।
अर्को एक प्रसंगमा प्रमुख बोहोराले अघिल्लो वर्षको वार्षिक समीक्षाका बारेमा अपूर्ण सूचना बाहिरिएको भन्दै त्यसको खण्डन गरे । दोश्रो चौमासिक सम्म १८ प्रतिशतमात्र पुँजिगत खर्च भएपनि तेश्रो तथा अन्तिम चौमासिकमा समेत गरेर ८० प्रतिशतभन्दा बढि योजना सकिएको र बाँकी योजनाहरु पनि क्रमागतमा यो वर्ष निरन्तर हुने स्पष्ट पारे ।
१४ भाद्र २०७७, आईतवार