तारकेश्वरमा १ वर्षमा आधा किलोमिटर सडक कालोपत्रे !

काठमाडौं, १३ भदौ । तारकेश्वर नगरपालिकामा १ वर्षमा आधा किलोमिटर सडक कालोपत्रे भएको छ।
लकडाउन हुनुभन्दा अगाडि जरङकुमा र जेठको अन्तिममा शेषमति पुलबाट सनफ्लावर स्कुल जाने बाटोमा गरी ०.५५० किमी सडक कालोपत्रे भएको नगरका प्राविधिक शाखा प्रमुख पूर्णकाजी महर्जनले बताए।
त्यस्तै आवश्यक परेको ११ वटै वडामा ८.२३१ सडक ढलान र २.१९४ सडक ग्रावेल भएको छ। महादेवखोलामा, हेल्पिङ हेण्ड्समा, ख्यालगुच्चामा र वडा ५ मा गरी चार ओटा मोटरेवल पुल राखिएको महर्जनले जानकारी दिए। त्यस्तै, नगरले गत आवमा २ वटा पार्क निर्माण, १४.३२७ किमी खानेपानी पाइपलाइन विस्तार, ३.५३७ किमी ढल निर्माण, ०.१३७ किमी नदी नियन्त्रण, २ हेक्टर सिँचाई, २ वटा पोखरी, २० रोपनी सार्वजनिक जग्गा संरक्षण, २ वटा स्वास्थ्य चौकी पूनर्निर्माण, १८ वटा सामुदायिक भवन मर्मत तथा पूनर्निर्माण र २ वटा विद्यालयको पूनर्निर्माण गरेको आंकडा पेश गरेको छ।
गत आवमा स्वीकृत योजनाको ८० प्रतिशत वित्तीय प्रगती भएको नगरले दावी गरेको छ। नगरकाअनुसार बागमती प्रदेश पूर्वाधार विकास कार्यालयसँगको समन्वयमा वडा ६ सनफ्लावर स्कुलदेखि बस्नेतटार सडक कालेपत्रे गर्ने चरणमा रहेको छ।