तारकेश्वर नगरको भर्चुअल कक्षाः युट्यूव च्यानलबाट तीनवटा कक्षालाई पढाइँदै

तारकेश्वर, १३ भदौ । तारकेश्वर नगरपालिकाले असारको पहिलो सातादेखि सञ्चालनमा ल्याएको भर्चुअल कक्षा एकहदसम्म प्रभावकारी देखिएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र र नगरपालिकाको आयोजनामा सुरु गरिएको भर्चुअल कक्षामा ८, ९ र १० कक्षाका विषयहरु पढाउने गरिएको हो । नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेका अनुसार नगरपालिका भित्रका सरकारी र संस्थागत विद्यालयका शिक्षकहरुले युट्युवबाट अध्यापन गराइराखेका छन् । सुनौलो तारकेश्वर नामक युट्युव च्यानलबाट सञ्चालन हुने कक्षामा तीन कक्षाका तीन विषय अध्यापन गराइन्छ ।
सुरुको चरणमा गणित, विज्ञान र अँग्रेजीको मात्र अध्यापन सुरु गराएपनि विस्तारै कक्षा ६ देखि १२ सम्म पढाउने गरि पूर्वाधार विस्तार गरिने नगरपालिकाको सूचना अधिकारी समेत रहेका शिक्षा शाखा प्रमुख न्यौपानेले तारकेश्वर अनलाईनलाई जानकारी दिए । उनका अनुसार भर्चुअल कक्षा लिने शिक्षकहरुलाई प्रतिकक्षा ६ सय रुपैयाँ दिने गरिएको छ । कक्षा सञ्चालन गर्नका लागि शिक्षा विभागको शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट २ लाख बजेट आएको न्यौपानेले बताए । धर्मस्थलीको ग्रामसेवा स्कूलमा शिक्षकहरुको भर्चुअल कक्षा सुटिंग गरिन्छ ।
नगरपालिकाको युट्युव च्यानलबाट दिइने कक्षाबाट इन्टरनेटको सहज पहुँच भएकाहरुलाई केही हदसम्म लाभदायी भएपनि इन्टरनेटको पहुँच नहुनेका लागि सहयोगी हुने देखिँदैन । निजी विद्यालयहरुले दोहोरा सम्वादसहितको अनलाईन विद्यालय चलाइरहँदा नगरपालिकाले भने अझै एकोहोरो विधिबाट युट्युवमार्फत कक्षा लिइरहेको हो ।