तारकेश्वर नगरमा १ वर्षमा ४ सय ६१ योजना सम्पन्न
काठमाडौं, भदौ १४ । तारकेश्वर नगरपालिकामा गत आर्थिक वर्ष २०७६÷०७७ मा ४ सय ६१ योजना सम्पन्न भएको छ। गत आवको ७ सय १ योजनामध्ये ४ सय ६१ योजना सम्पन्न भएको हो।
सो आवमा सम्पन्न हुन बाँकी रहेका २ सय ४० योजना चालू आव २०७७÷२०७८ मा सम्पन्न गरिने नगरका प्राविधिक शाखा प्रमुख पूर्णकाजी महर्जनले तारकेश्वर अनलाईनलाई बताए।
‘विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण फागुनबाट काम हुने सकेन, बाँकी रहेका योजना चालू आवमा सम्पन्न गर्छौ,’ उनले भने।
उनका अनुसार २ वटा प्रदेश सर्शत कार्यक्रम, १÷१ वटा वन तथा वातावरण मन्त्रालय र सडक बोर्डअन्तर्गतको योजना भने सम्पन्न भएको छ।
३ सय ७६ वडास्तरीय योजनाहरूमध्ये २ सय ६६ वटा योजना सम्पन्न भएको छ भने १ सय १० वटा बाँकी रहेको छ। एक सय वटा नगरस्तरीय अन्य योजना तथा कार्यक्रममध्ये ५३ वटा सम्पन्न भएको छ भने ४७ वटा बाँकी रहेको उनले बताएका छन्।
त्यस्तै, ठेक्कामा गएका १५ वटा नगरस्तरीय योजना सबै सम्पन्न भएको छ। २२ वटा अन्य कार्यक्रम तथा योजनामा १८ वटा सम्पन्न भएको छ भने ४ वटा सम्पन्न हुन बाँकी रहेको छ। आव २०७५÷०७६ का ८ वटा योजनामध्ये ४ वटा सम्पन्न भएका छन् भने ४ वटा बाँकी छन्।
त्यसैगरी, लागत साझेदारीका १ सय १३ कार्यक्रम तथा योजनामध्ये ५४ वटा सम्पन्न भएको छ भने ५९ वटा बाँकी रहेको छ। स्थानीय पूर्वाधार विकास साझेदारीका ४५ वटै कार्यक्रम तथा योजना सम्पन्न भएको छ। प्रदेश पूर्वाधार विकास साझेदारीका १७ वटै कार्यक्रम तथा योजना सम्पन्न भएका छन्।
काठमाडौं महानगर साझेदारी कार्यक्रम तारकेश्वर मन्दिर पूर्वाधार विकासको एउटा योजना भने गत आवमा सम्पन्न हुन सकेको छैन।