तारकेश्वरकी एक्ली महिला नगर प्रहरी, भन्छिन्ः पेशाप्रति मलाई गर्व छ

तारकेश्वर । रसुवाकी सावित्री खनाल कुनैबेला विभिन्न कार्यक्रममा लोकदोहोरी गायिकाका रुपमा पनि हिँडिन । जीवनमा धेरै उतारचढाव आयो । संघर्ष र दुःखका आम कहानी जस्तै उनको जीवनपनि आरोह अवरोहले भरिएको छ ।

तर पछिल्लो एकवर्षयता उनको दैनिकी फेरिएको छ । उनी तारकेश्वर नगरपालिकाको प्रहरीमा भर्ति भएकी छिन् । ५ जनाको दरबन्दी रहेको नगरप्रहरीमा उनी एक्लो महिला छिन् । उनी नगर प्रहरी जवान हुन् । खनाल अघिल्लो वर्ष मंसिरमा नगरप्रहरीमा प्रवेश गरेकी हुन् । तारकेश्वर अनलाईनसँग कुरा गर्दै उनले नगर प्रहरीका रुपमा नगरपालिकाको कानून कार्यान्वयनको लागि काम गर्न पाउँदा गर्व लागेको बताइन् । नगर प्रहरीका रुपमा लाग्न पाउँदा र घरपरिवारले सहयोग गर्दा आफु महिला भएर पनि कुनै असहजता महशुष नभएको उनको भनाइ छ ।

उनले आफ्नो जिम्मेवारीका बारेमा अगाडि भनिन्, ‘अवैध बालुवा उत्खनन् निगरानी र नियन्त्रण, प्लटिंग सम्बन्धी विवाद, होहल्ला नियन्त्रण, अवैध कृयाकलाप रोक्ने हाम्रो मुख्य जिम्मेवारी हो । त्यो हामीले गरिरहेका छौं । हामी थोरै संख्यामा भएपनि सकेसम्म धेरै काम गरिरहेका छौं । ‘

नगरले प्रहरीको भर्ति सुरु गरेपनि हाल त्यो संख्या निकै कम छ । ११ वटा वडा भएको नगरपालिकामा ५ जनामात्र नगर प्रहरी हुँदा प्रशस्त काम गर्न नसकिएको खनालको अनुभव छ ।

नगरपालिकाले यस आर्थिक वर्षमा दरबन्दी थप गर्ने तयारी गरेपनि कोभिड महामारीका कारणले त्यो प्रकृया अघि बढ्न सकेको छैन । ११ वटा वडा भएको नगरमा कम्तिमा ११ जना नगरप्रहरी पुर्याउने योजना अहिले अड्किएको छ । हाल तारकेश्वर नगरप्रहरी असईको नेतृत्वमा छ । जसमा एकजना हवलदार र ३ जना नगर प्रहरी जवान रहेका छन् । प्रहरीको व्यवस्थापन र तलव नगरपालिकाले नै गर्छ । नगर प्रहरीको संख्या र प्रभावकारिता न्यून हुँदा नगरपालिकामा हाल खुलेयाम रुपमा निषेधाज्ञा अवज्ञा भएको छ भने अवैध बालुवा उत्खनन् र खेतियोग्य जमिन प्लटिंग हुने क्रम पनि अपेक्षाकृत रोकिएको छैन ।

१४ भाद्र २०७७, आईतवार