कोरोना तथ्यांकलाई एकीकृत बनाउन तारकेश्वर नगरमा ‘सिसिआइसी टिम’ गठन

काठमाडौं, १६ भदौ । कोभिड–१९ को तथ्यांकलाई एकीकृत बनाउन तारकेश्वर नगरपालिकामा केस इन्भेष्टिकेसन कन्ट्याक आइडेन्टिफिकेसन (सिसिआइसी) टिम गठन भएको छ।

सोमबार नगरपालिकास्तरमा ६ सदस्यको सिसिआइसी टिम गठन गरिएको नगरपालिकाका कोभिड फोकल पर्सन डा. उदेश पाण्डेले तारेकश्वर अनलाईनलाई जानकारी दिए।

उनकाअनुसार यस टिमले नगरमा कसैको पिसीआर पोजेटिभ देखियो भने उसको बारेमा सम्पूर्ण जानकारी लिई कन्ट्याकमा आएका व्यक्तिको पहिचान लिने कार्य गर्दछ।

कन्ट्याकमा आएका व्यक्तिको पहिचान गरेपछि त्यसको फलोअप गर्न वडास्तरीय २२ जनाको कन्ट्याक ट्रेसिङ फलोअप (सिटिसिएफ) टिम बुधबार गठन गरिने डा. पाण्डेले जानकारी दिए। उनका अनुसार यस समूहमा प्रत्येक वडाको स्वास्थ्य शाखाबाट २÷२ जना रहनेछन् ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना संक्रमितको एकिकृत तथ्यांक तयार गर्न र स्थानीय तहलाई कोभिड नियन्त्रणमा सघाउन प्रत्येक नगरमा कोभिड फोकल पर्सन पठाएको छ।

यसले कोरोना संक्रमितको संख्या पत्ता लगाउन, कन्ट्याकमा आएका व्यक्तिको संख्या पत्ता लगाउन सहज हुने डा. पाण्डेले बताए।

‘पहिले वडाको कोभिड विपद् व्यवस्थापनले यसका लागि काम गरिरहेको थियो। त्यसले कोरोना संक्रमितको तथ्यांक छरिएर रहेको थियो, यो टिमले डाटालाई व्यवस्थित पार्दछ,’ उनले भने।