जब कंक्रिटको छतमा सुजाताले हरियाली फलफूल र तरकारी फलाइन् (फोटोफिचर)

तारकेश्वर, १७ भदौ । भनिन्छ जहाँ इच्छा त्यहाँ उपाय । सोच, लगनशीलता र मेहेनतले कर्म गर्ने हो भने स-साना उपलब्धी र खुशीले पनि जीवनलाई रंगीन बनाइदिन्छ । कोही मान्छे भएका जमिन उजाड बनाएर विदेशिएका छन् भने कोही विदेशबाट फर्किएकाले चाहीँ कोसीमै सपना र खुशी फलाएका छन् ।

यो कथा हो तारकेश्वर नगरपालिका वडा नं ९ मनमैजु नविनबस्ती कि सुजाता अधिकारीको । विसं २०७४ सालदेखि उनले आफ्नै घरको छतमा कौसी खेती गरेकी छिन् ।

१० वर्ष विदेशमा बसेर स्नातकोत्तर पढाइ सकेर अधिकारी नेपाल फर्किएकी हुन् । उनले अहिले घरमै कौसी खेतीमार्फत सुन्तला, कागती, मुन्तला मेवा, आँप, अम्बा लगायत फलफूल फलाएकी छिन् ।

यतिमात्र होइन उनले कौसीमै कुरिलो, रायोको साग, धनिया लगायतका सिजन अनुसारको तरकारी नि फलाएकी छिन् । उनको मेहेनत र लगावले कंकृटको छतपनि हरियाली बँगैचाजस्तै मनमोहक छ । सुन्दर छ । हेरिरहौं जस्तो छ ।

उनले कौसीखेतीमा ६० वटा पानी जारको बोतल र ३० वटा ग्रोईङ ब्याङ र गमलामा गरेकी छिन् । सुजाताले महका लागि पाचँ घार मौरिपनि पालेकी छिन।

उनले आफै घरमै कम्पोस्ट मल बनाएर बिक्रीवितरण पनि गर्ने गरेकी छिन् । कौसीखेतीका साथै यसका लागि मल बनाउने तालिम, तरकारीको बिऊबिजन पनि घरबाटै बिक्री गर्ने गर्छिन ।

तारकेश्वर अनलाइनसगँ कुरा गर्दै अधिकारीले घरबाट निस्केको फोहोरलाई सदुपयोग गरि कम्पोस्ट मल बनाएर कौसीखेती गर्दा घरमा ताजा र अर्गानिक तरकारी खान सजिलो हुने, बढि भए बिक्रि समेत गर्न मिल्ने बताइन् । साथै कौसी खेतीले घरको र छतको सौन्दर्य पनि बढ्ने भन्दै कौसी उपलब्ध भएका सबैलाई खेती गर्न सुझाव दिइन् ।

१७ भाद्र २०७७, बुधबार