तारकेश्वर नगरले कोरोना संक्रमितलाई बाँड्न थाल्यो पाँच हजार भत्ता (फोटो फिचर)

तारकेश्वर, २२ भदौ । तारकेश्वर नगरपालिकाले होम आइसोलेसनमा रहेका नगरभित्रका कोरोना संक्रमितलाई ५ हजार भत्ता वितरण गर्न थालेको छ ।

नगरपालिका प्रमुख रामेश्वर बोहोरा, उपप्रमुख भवानी डोटेल, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाल लम्साल लगायतले आज नगरका विभिन्न क्षेत्रमा पुगेर संक्रमितहरुलाई भत्ता र स्वास्थ्य सामाग्री वितरण आरम्भ गरेका हुन् । नगरका प्रमुख लगायत पदाधिकारीले तानपा वडा नं १० को शिवनगरस्थित नवल चन्द्र शिवाकोटीको एकै घरमा रहेका ५ जना कोरोना संक्रमितलाई जनही पाँच हजार रुपैयाँ, केहीथान मास्क, स्यानिटाइजर, भिटामिन सी लगायत स्वास्थ्य सामाग्री वितरण गरे । सो अवसरमा तानपा प्रमुख बोहोराले कोभिड १९ को संक्रमण भएर गम्भीर लक्षण नदेखिएकाहरुलाई होम आइसोलेसन नै उपयुक्त हुनेभन्दै सबै कोरोना संक्रमितहरुको साथमा नगरपालिका रहेको बताए । बिरामीलाई थप जटिलता भए नगरपालिकाले समन्वय गरेर निःशुल्क एम्बुलेन्समा राखेर अस्पताल पुर्याउने काम गरिरहेको पनि उनले बताए ।

सो अवसरमा नगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले बिरामीहरुलाई उच्च मनोबलका साथ बस्न सुझाव दिए । नगर कार्यपालिकाको यसअघिको निर्णय अनुसार नगरले संक्रमित नगरबासीलाई पोषण भत्ता र स्वास्थ्य सामाग्री वितरण गर्न थालेको हो । नगरमा हालसम्म झण्डै २ सय जनालाई कोरोना संक्रमण देखिएको छ । ती मध्ये एकको मृत्यु भएको छ ।

 

 

 

 

 

२२ भाद्र २०७७, सोमबार