तत्कालिन रौतहट प्रहरी प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं, २५ भदौ । प्रहरी हिरासतमा मृत्यु भएका रौतहटको गरुडा –८ जिंगडियाका १७ वर्षीय युवक विजयरामको घटनालाई लिएर तत्कालिन जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
बुधवार मृतक विजयरामका बुबा पनिलाल महराले केही मानवअधिकारवादी अधिवक्ताहरुको सहयोगमा मुद्दा दर्ता गराएका हुन् । न्यायका लागि मानवअधिकारका अध्यक्ष इन्द्रप्रसाद अर्याल, अधिवक्ता बद्रिप्रसाद भुषाल लगायतको सहयोगमा पनिलालले मुद्दा दर्ता गराएका हुन् । प्रहरी प्रमुख एसपी रविराज खड्का बाहेक तत्कालिन इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतो, प्रहरी निरीक्षक नविन कुमार सिंह, प्रहरी नायब निरीक्षक विरेन्द्र यादव र हवल्दारद्धय मुन्ना सिंह र फिरोज धुनियाविरुद्ध मुर्दा दर्ता भएको हो ।
गरुडा नगरपालिका–८, जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा विजयरामलाई प्रहरीले साउन ३२ गते गरेको थियो । प्रहरी हिरासतमा रहेकै बेला अवस्था बिग्रिएपछि उपचारका क्रममा उनको वीरगञ्जमा मृत्यु भएको थियो ।
१७ वर्षीय विजयको शरीरमा निलडाम र घाउचोट देखिएपछि परिवारले प्रहरीको कुटपिटका कारण मृत्यु भएको बताएका छन् । विजयलाई हिरासतमा हत्या स्वीकार गर्न चरम यातना दिँदा उनको मृत्यु भएको परिवारको आरोप छ ।