तारकेश्वरमा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु

तारकेश्वर , २५ भदौ । तारकेश्वर नगरपालिकामा कोरोना संक्रमणको कारण दोश्रो व्यक्तिको ज्यान गएको छ । नगरपालिकाको वडा नं ८ का एकजना ७४ वर्षीय पुरुषको शिक्षण अस्पतालमा मृत्यु भएको हो । यसअघि किष्ट अस्पतालमा वडा नं ११ का एक व्यक्तिको संक्रमणका कारण ज्यान गएको थियो ।
त्यस्तै नगरमा बिहीबार १७ जना कोरोना संक्रमित थपिएका छन्। अब कुल कोरोना संक्रमितको संख्या २ सय ४० पुगेको छ।
नगरको स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार सबैभन्दा बढी मनमैजु–१० मा ६३ र सबैभन्दा कम फुटुङ– ७ मा २ जनामा कोरोना फैलिएको छ।
त्यस्तै, नेपालटार–११ मा ३८, मनमैजु–८ मा २५, गोलढुङ्गा–४ मा २४, गोलढुंगा–५ मा १८, मनमैजु– ९ मा २७, काभ्रेस्थली–२ मा १३, जितपुरफेदी–३ मा ७, साङ्ला–१ मा ७ र धर्मस्थली–६ मा १६ जनामा कोरोना संक्रमण फैलिएको शाखाले जानकारी दिएको छ ।
संक्रमितमध्ये १ सय २१ जना होम आइसालेसन, ३१ जना अस्पताल आइसोलेसन, २१ जना कोभिड सेन्टर, १ जना होटल आइसोलेसनमा रहेका छन। नगरमा हालसम्म ६३ जना निको भएका छन्। सक्रिय कोरोना संक्रमितको संख्या १ सय ७५ पुगेको छ। हालसम्म नगरका ९ सय ९८ जनाको पिसीआर परीक्षण गराएको छ भने १ सय ४ जनाको कन्ट्याक ट्रेसिङ गर्दा देखिएको शाखाले जानकारी दिएको छ ।
२५ भाद्र २०७७, बिहीबार