गणेशमानले देखाएको बाटो काँग्रेसले भुल्योः सांसद प्रधान

तारकेश्वर, २ असोज । नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र नं ६ ले श्रद्धाञ्जली सभा आयोजना गरेको छ । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नं ६ का सांसद भिमसेनदास प्रधानको अग्रसरतामा रत्नपार्क अवस्थित शान्ति बाटिकामा श्रद्धाञ्जली सभा राखिएको हो ।

कोभिड १९ को महामारीको कारण सामाजिक दुरि कायम गरि २५ जनाभन्दा कम नेताकार्यकर्ता जम्मा भएर कार्यक्रम गरिएको थियो। कार्यक्रममा गणेशमान सिंह प्रतिष्ठानका अध्यक्ष सांसद भिमसेनदास प्रधानले कांग्रेसले गणेशमान सिंहले देखाएको बाटो बिराएको टिप्पणी गरे । गणेशमानले देखाएको मार्ग कांग्रेसका नेताहरुले अवलम्बन गरेर पार्टीमा युवालाई नेतृत्व प्रदान गर्नुपर्ने नेता प्रधानको भनाइ छ ।

पार्टीभित्र सक्षम नेतृत्वलाई बागडोर हस्तान्तरण गरेमा मात्र गणेशमान सिंहको त्यागको सम्मान हुने कांग्रेस नेता बिष्णुभक्त तिमिल्सिनाले बताए ।

कार्यक्रममा क्षेत्र नं ६ काठमाडौंका सभापति श्यामकृष्ण खड्गी, क्षेत्रीय सचिव एवम् काठमाडौ महानगरपालिकाका वडा अध्यक्ष खेम तिवारी, कांग्रेस नेता बिष्णुभक्त तिमिल्सिना, चन्द्र न्यौपाने, कामनपा वडा नं २८ का वडाध्यक्ष भाइराम खड्की, टोखा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष केशवबहादुर खत्री लगायतका नेता कार्यकर्ता सहभागी भए । कार्यक्रममा सहभागी नेताहरुले गणेशमान सिंहको व्यक्तित्वलाई स्मरण गर्दै उनको तस्वीरमा माल्यार्पण र श्रद्धाञ्जली अर्पण गरेका थिए ।