मध्यवर्ती क्षेत्रमा डोजर चलाएको विषयमा साङ्गलामा तनाव, निकुञ्जको कर्मचारीमाथि हातपात

तारकेश्वर, ७ असोज । तारकेश्वर नगरपालिकाको वडा नं १ साङ्गलाको थुम्का भन्ने स्थानमा डोजर चलाएको विषयलाई लिएर स्थानीय र निकुञ्जको गस्ती टोलीबीच विवाद हुँदा दुईपक्षबीच घम्साघम्सी भएको छ ।

शिवपुरी राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सो स्थानमा दुईवटा डोजर चलाएको पाइएपछि मंगलबार गस्ती टोलीले डोजरको साँचो नियन्त्रणमा लिएसँगै तनाव उत्पन्न भएको हो । सो क्रममा डोजर सञ्चालन गर्न लगाउने स्थानीय माधवप्रसाद तिमिल्सिनाले निकुञ्जका सिनियर गेमस्काउट रितुराज पौडेललाई हातपात गरेका हुन् ।

मध्यवर्ती क्षेत्रमा बिना स्वीकृति डोजर चलाएर बालुवा उत्खनन् गरेको पाइएपछि गस्ती टोलीले साँचो नियन्त्रणमा लिँदा तिमिल्सिनाले हातपात गरेको शिवपुरी राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत विनय कुमार झाले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।

कानुन कार्यान्वयन गराउने कर्मचारीमाथि हातपात भएसँगै आफुहरुले घटनाका बारेमा स्थानीय जनप्रतिनिधि, उपभोक्ता र सम्बन्धित निकायमा जानकारी गराएको झाले बताए । घटनाका बारेमा शिवपुरी राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय पानीमुहानमा पनि खबर गरिएको छ ।

घटनालाई लिएर निकुञ्ज कार्यालयले दोषीलाई पक्राउ गर्न भन्दै मौखिक रुपमा बालाजु वृत्तमा जाहेरी दिएको छ । तर, घटनाको वास्तविकता बुझ्न भन्दै बुधवार दिउसो दुईपक्षबीच छलफल गर्ने कार्यक्रम तय गरिएको साङ्गलाका वडाध्यक्ष विदुर सापकोटाले बताए । छलफलबाट समस्या समाधान गर्ने भन्दै मंगलबार वडाध्यक्ष सापकोटा, टोखा १ का वडाध्यक्ष र मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका पदाधिकारी लगायतले निकुञ्ज कार्यालयका अधिकारीहरुसँग छलफल गरेका छन् । सो छलफलपछि दुईपक्ष बसेर समाधान निकाल्ने प्रयत्न गरिएको जनाइएको छ ।

तर, हातपातमा संलग्न भनिएका स्थानीय माधव प्रसाद तिमिल्सिनाले भने निकुञ्ज कार्यालयको ज्यादतीमाथि आक्रोशमात्र पोखेको प्रतिक्रिया दिएका छन् । तारकेश्वर अनलाईनसँग कुरा गर्दै तिमिल्सिनाले अन्य अवैध जग्गा खण्डिकरण, बनफँडानी गर्दा मुकदर्शक बन्ने निकुञ्ज कार्यालयले आफुहरुले सहि नियतमा चलाएको डोजर नियन्त्रण गर्न बल प्रयोग गरेको दावी गरे । घुस खाएर अवैध काम गर्न दिने तर स्थानीयलाई बिनाकाममा दुःख दिने निकुञ्ज कार्यालयको ज्यादती बढेको भन्दै त्यसको अन्त्यका लागि आफुले विद्रोह गरेको उनको जिकिर छ ।

७ आश्विन २०७७, बुधबार