अवैध क्रसर खुलाउन नुवाकोटका नेकपा नेता नै सक्रिय, अवैध काम हुन नदिने सिडियोको अडान
नुवाकोट, ७ असोज । नुवाकोटमा राजनीतिक दादागिरीका आधारमा चलेका अवैध क्रसर जोगाउन जिल्ला समन्वय समितिका नेताहरु नै सक्रिय भएका छन् ।
सत्ताधारी दल र प्रमुख प्रतिपक्षी पार्टीका स्थानीय नेताहरु कै लगानीमा चलेको नुवाकोट गंगटेको बर्डस्टोन क्रसरलाई जिल्ला प्रशासन कार्यालयले बन्द गराएसँगै छटपटिएका नेताहरुले जिल्ला समन्वय समितिबाट निर्णय गराएर क्रसर चलाउने जुक्ति निकालेका हुन् ।
सोमबार बसेको जिल्ला समन्वय समिति बैठकमा नेकपा नुवाकोटका अध्यक्ष समेत रहेका प्रदेश सांसद हीरानाथ खतिवडा लगायतले नै क्रसर चलाउन दिने पक्षमा दवावपूर्ण ढंगबाट निर्णय गराएका हुन् ।
बैठकमा सहभागी एक जनप्रतिनिधिका अनुसार कोरोना भाइरसले निम्त्याएका विभिन्न आर्थिक सामाजिक समस्याका बारेमा छलफल गर्नुपर्ने बेलामा एउटा अमूक क्रसर खुलाउन जनप्रतिनिधिहरुले ढिपी कसेका हुन् । सो बैठकले बर्डस्टोनलाई तत्काल खुलाउने गरि चोरबाटोमा निर्णय गरेका हुन् । बैठकले बर्डस्टोनलाई नै सहज बनाउने गरि ढुंगा, गिट्टी, बालुवा उख्खनन् तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा ११ को उपदफा एक बमोजिमको दुरी सम्बन्धी मापदण्ड पुरा नहुने गरि सञ्चालिन क्रसरलाई एकवर्षभित्र स्थानीय तहले वातावरणीय प्रभाव मूल्यांकन गरेर स्थानान्तरण गराउनसक्ने निर्णय गरेको छ ।
त्यस्तै मन्त्रिपरिषदले जारी गरेको मापदण्डलाई टेक्दै स्थानीय तहले कानून बमोजिम नदिजन्य स्रोत उत्खनन् र बिक्रि वितरण गराउनसक्ने भनिएको छ । अदालतको आदेश अवज्ञा गर्दै गंगटेमा अवैध रुपमा चलिरहेको बर्डस्टोन क्रसरलाई गैरकानुनी रुपमा अनुमति दिएको विदुर नगरपालिकाको विवादास्पद निर्णयलाई जिल्ला समन्वय समितिले वैधता दिन खोजेको पाइएको हो । त्यस्तै बैठकले अवैध निकासी भएर नदि किनारामा जम्मा भएको बालुवागिट्टीलाई पनि लिलाम वा कर संकलन गरेर बेच्न र ओसारपसार गराउन स्थानीय तहले स्वीकृति दिने निर्णयमा उल्लेख छ ।
जिल्ला समन्वय समितिको बैठक बस्न विद्यालय सञ्चालको एजेण्डा देखाएपनि बैठकमा सो विषयले प्रवेश नै नपाएर सबै जनप्रतिनिधि क्रसरका विषयमा केन्द्रित भएका हुन् । बैठकले गरेका विभिन्न ६ वटा निर्णयमा कुनै पनि निर्णय विद्यालय सञ्चालनसम्बन्धी भएका छैनन् । बैठकमा सहभागी एक जनप्रतिनिधिका अनुसार बैठकमा विद्यालय सञ्चालका विषयमा कुनै प्रसंग नै आएन । क्रसर चलाउने विषयमा मात्र बैठक राख्दा जनप्रतिनिधि नआउने भएकाले विद्यालयको प्रसंग राखिएपनि बैठकको एकमात्र उद्देश्य अमूक क्रसर खुलाउनैमा सीमित भएको उनको दावी छ ।
मापदण्ड नपुगेकालाई सञ्चालन गर्न दिन्नः प्रमुख जिल्ला अधिकारी
सो बैठकमा सहभागी भएका नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले अदालतको आदेश विपरित मापदण्ड नपुर्याएका क्रसरलाई अनुमति दिन नसकिने अडान राखेका छन् । स्थानीय तहले वातावरणीय प्रभाव मूल्यांकन गरेर सरकारले जारी गरेको मापदण्ड बमोजिम क्रसर सञ्चालन गर्न दिनसक्ने भनिएपनि हाल विवादमा आएको बर्डस्टोन क्रसरले सो मापदण्ड पूरा नगरेकाले बन्द गराइएको उनको भनाइ छ । ढकालले जनप्रतिनिधिहरुलाई मापदण्ड पुरा गरेका क्रसरको मात्र पैरवी गर्नपनि अनुरोध गरेका छन् ।