राष्ट्रिय नागरिक विकास समाजले तारकेश्वर नगरलाई दियो १६ लाख बराबरको एम्बुलेन्स

तारकेश्वर, ७ असोज । सामाजिक कार्यमा सक्रिय राष्ट्रिय नागरिक विकास समाजले तारकेश्वर नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
नगरपालिकामा आज भएको एक कार्यक्रमका बीच समाजका अध्यक्ष महेशजंग कुवँरले नगरका मेयर रामेश्वर बोहोरलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् । एकवर्षका लागि सम्झौता गरेर संस्थाले नगरपालिकालाई एम्बुलेन्स दिएको हो । नगरले पाएको उक्त एम्बुलेन्स नगर कार्यालयमा रहने र नगर मातहतकै चालकले सञ्चालन गर्ने दुईपक्षबीच सम्झौता भएको छ । आगामी असार मसान्तसम्मका लागि भएको उक्त सम्झौतामा नगरले आफ्नै स्रोतबाट एम्बुलेन्स मर्मतसम्भार, व्यवस्थापन र चालकलाई तलब सुविधा दिने उल्लेख गरिएको छ । समाजले नगरलाई एम्बुलेन्सका अलावा कोभिड न्यूनिकरणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री पनि हस्तान्तरण गरेको छ ।
हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष महेशजंग कुँवरले नगरभित्रका बासिन्दालाई सहज रुपमा एम्बुलेन्सको उपलब्धता गराउन एम्बुलेन्स हस्तान्तरण गरिएको बताए । कार्यक्रममा नगरका प्रमुख रामेश्वर बोहोराले एम्बुलेन्स उपलब्ध गराएकोमा संस्थालाई धन्यवाद दिँदै यस कार्यले तारकेश्वर नगरका बासिन्दालाई सुविस्ता हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नगरका उपमेयर भवानी डोटेल, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालका साथै चिरायु अस्पतालका अप्रेसन डाइरेक्टर चण्डेश्वर वैद्य लगायत सहभागी भएका थिए ।