राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पुनरावलोकन गर्न तानपाका वडाध्यक्षहरुको माग

तारकेश्वर, ८ असोज । तारकेश्वर र टोखा नगरपालिकामा पर्ने शिवपुरी -नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रलाई पुनरावलोकन गर्न स्थानीय जनप्रतिनिधिहरुले पहल थालेका छन् ।

मध्यवर्ती क्षेत्र र निकुञ्जको क्षेत्राधिकारलाई लिएर स्थानीय तह, समुदाय र निकुञ्ज कार्यालयबीच विवाद र अन्योलता बढ्दै गएपछि तारकेश्वर र टोखा नगरपालिकाका वडाध्यक्षहरुले समस्या समाधानका लागि छलफल थालेका हुन् । तारकेश्वर नगर कार्यपालिकाका प्रवक्ता समेत रहेका वडा नं १ का अध्यक्ष विदुर सापकोटाले मध्यवर्ती क्षेत्रका बारेमा रहेको अन्योलता चिर्नका लागि जनप्रतिनिधिहरुले छलफल थालेको तारकेश्वर अनलाईनलाई जानकारी दिए । बुधवार तानापा १ को वडा कार्यालयमा भएको छलफलमा तारकेश्वरको वडा नं १, २, ३, ४ र ५ का वडाध्यक्ष र टोखा नगरपालिका वडा नं १ का अध्यक्ष सहभागी भए ।
निकुञ्जको र स्थानीय तहको क्षेत्राधिकारलाई लिएर पटकपटक विवाद सिर्जना भएपछि छलफल सुरु गरिएको हो ।

‘निकुञ्जको सीमानादेखि ५०० मिटर क्षेत्र मध्यवर्ती क्षेत्र भनिएपनि धेरै टाढासम्म मध्यवर्ती क्षेत्रका रुपमा व्याख्या गरिएको छ । यसबारेमा स्पष्टता खोज्न हामीले पहल थालेका हौं ।’ वडाध्यक्ष सापकोटाले भने ।

साथै निकुञ्जको मध्यवर्ती क्षेत्रमा उपभोक्ता समितिहरु रहेपनि सो समितिहरुको स्थानीय तहसँग समन्वय नभएको विषयपनि छलफलमा उठेको छ । उपभोक्ता समितिहरु बन्दा स्थानीय तहले सहजीकरण गर्नुपर्नेमा त्यसो नभएको पाइएको वडाध्यक्ष सापकोटाले बताए ।

नदिजन्य स्रोत उत्खनन्मा निकुञ्ज र स्थानीय तहको व्यवस्था बाझिँदा समस्या
मंगलबार राष्ट्रिय निकुञ्जका कर्मचारी र सांग्लाका स्थानीयबीच नदिजन्य स्रोत उत्खनन्को विषयलाई लिएर विवाद र हातपातको अवस्थासम्म सिर्जना भएपछि स्थानीय जनप्रतिनिधिले अन्योलता चिर्न पहल थालेको बताएका छन् । वर्षातको मौसममा स्थानीय तहले खोलाहरुबाट स्रोत उत्खनन् गर्न रोक लगाएको छ । चोरी निकासी भएका बालुवालाई पनि राजश्वको दायरामा ल्याएर बेच्न ठेक्का गरेको छ । तर, राष्ट्रिय निकुञ्ज कार्यालयले भने स्थानीय तहसँग समन्वय नै नगरी रसिद काट्दै बालुवा, गिट्टी लगायत स्रोत उत्खनन् गर्न दिइरहेको छ । जसले गर्दा स्थानीयबासिन्दामा अन्योलता बढेको हो ।

‘हामीले बालुवा लगायत नदिजन्य स्रोत उत्खनन् गर्न रोक लगाएका छौं । तर, निकुञ्ज कार्यालयले भने प्रतिटिप १ सय ५० रुपैयाँ लिएर बालुवा निकासी गर्न दिइरहेको छ । यसले गर्दा कानुन र नियममा एकरुपता भएन ।’ वडाध्यक्ष सापकोटाले अगाडी थपे ।

बुधवार भएको वडाध्यक्षहरुको भेलाले मध्यवर्ती क्षेत्रको सीमाना र क्षेत्राधिकार पुनर्पपरिभाषित गर्ने सम्बन्धी विषयमा टोखा र तारकेश्वरका मेयर र उपमेयरसँग छलफल गर्ने र औपचारिक प्रस्ताव नगर कार्यपालिकाको बैठकमा पेश गर्ने सहमति गरेका छन् ।

८ आश्विन २०७७, बिहीबार