तारकेश्वरका दुई विद्यालयमा यो वर्षदेखि विद्यालय नर्स कार्यक्रम सञ्चालन हुने

तारकेश्वर, ८ असोज । बागमती प्रदेशले गतवर्षदेखि सुरु गरेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रममा तारकेश्वर नगरपालिकाका दुई विद्यालय छनोट भएका छन् ।

विद्यालयमा नर्स राखेर विद्यार्थीहरुलाई स्वस्थ जीवनशैलीका बारेमा अध्यापन गर्ने र प्राथमिक उपचारको व्यवस्था विद्यालयमै गर्ने योजना अनुरुप बागमती प्रदेशले विद्यालय नर्स कार्यक्रम सुरु गरेको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले यसवर्षदेखि विद्यालय नर्स कार्यक्रम सञ्चालन गर्न तानपाका दुई विद्यालय छनोट गरेको हो । नगरको वडा नं १० मा रहेको श्री मानसिंह धर्म माध्यमिक विद्यालय र वडा नं २ मा रहेको श्री कालिदेवी माध्यमिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू हुन लागेको हो ।

मन्त्रालयले तयार गरेको एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन कार्यविधि २०७६ अनुसार स्थानीय तहले सिफारिस गरि पठाएका विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था रहेको छ । सोही अनुसार प्रदेश सरकारले तारकेश्वर नगरपालिकाका दुई विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
यस्तै टोखा नगरपालिकाको पनि दुई विद्यालयमा नर्स कार्यक्रम लागू हुने भएको छ । नगरको श्री सरस्वती मावि र श्री मनोहर मावीमा विद्यालय नर्स कार्यक्रम लागू हुने भएको हो ।

बागमति प्रदेशको हरेक स्थानीय तहमा २ जनाका दरले १ सय १८ वटा स्कूलमा र गोसाईकुण्ड गाउँपालिकाको १ स्कूलमा कार्यक्रम लागू हुन लागेको हो । यसका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले २ सय ३७ जना विद्यालय नर्स नियुक्ति गर्ने प्रकृया अघि बढाउँदै योग्य उम्मेदवारको दरखास्त आह्वान पनि गरेको छ ।