तानपामा झण्डै ४ सयलाई कोरोना, संक्रमित भत्ता खाएर घरमा, आइसोलेसनमा कर्मचारीको क्वार्टर

काठमाडौं, असोज ८ । तारकेश्वर नगरमा कोरोना संक्रमितको संख्या ४ सय नजिक पुगेको छ । बिहीवार नगरपालिकाले दिएको तथ्यांकमा संक्रमितको संख्या ३ सय ८६ पुगेको उल्लेख गरिएको छ।
संक्रमितमध्ये सबैभन्दा बढी मनमैजु–१० मा रहेका छन्। उक्त वडामा ९८ जना संक्रमित रहेको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।
त्यस्तै, साङ्ला–१ मा १३, काभ्रेस्थली –२ मा १५, जितपुरफेदी–३ मा ९, गोलढुंगा–४ मा ३३, गोलढुंगा–५ मा ४९, धर्मस्थली–६ मा २६, फुटुङ–७ मा १२, मनमैजु–८ मा ३७, मनमैजु–९ मा ४७ र नेपालटार ११ मा ५७ जना कोरोनामा कोरोना संक्रमण फैलिएको छ।
डेढसय संक्रमित घरमा, नगरको आइसोलेसनमा कर्मचारीको क्वार्टर
नगरमा भएका संक्रमितमध्ये १ सय ४७ जना होम आइसालेसन, १८ जना अस्पताल आइसोलेसन, ११ जना कोभिड सेन्टर, २ जना होटल आइसोलेसनमा रहेका छन्। नगरमा हालसम्म २ सय ५ जना निको भएका छन्।
सक्रिय कोरोना संक्रमितको संख्या १ सय ७९ जना पुगेको छ। हालसम्म नगरका १४ सय ७० जनाको पिसीआर परीक्षण गराएको छ भने १ सय २५ जनाको कन्ट्याक ट्रेसिङ गर्दा पोजेटिभ देखिएको शाखाले जानकारी दिएको छ ।
नगरपालिकाले चौतर्फी दवावपछि कोरोना भाइरस न्यूनिकरणका लागि भन्दै सांग्लामा सञ्चालन गर्ने भनेको आइसोलेसन सञ्चालन नगरेर नगरबासीको आँखामा छारो हालेको छ । संक्रमितहरुलाई भत्ता दिएर लाखौं पैसा खर्च गरेका नगरपालिकाले आइसोलेसन सेन्टरको पूर्वाधारमा भने लगानी गरेन । जसले गर्दा सांग्लाको आइसोलेसन केन्द्र प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीको क्वाटरमा सीमित भएको छ भने सांसदहरुले लर्को लागेर अनुगमन गरेको आइसोलेसनमा माकुराले जालो लगाएको छ । लाखौं पैसा बाँडेर दानी देखिएको नगरपालिकाले आइसोलेसनलाई भने सामान्य अक्सिमिटर समेत किनेन । प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापनले आइसोलेसन सञ्चाल गर्न सामान्य उपकरण र जनशक्ति माग गरेपनि नगरपालिकाले त्यसलाई बेवास्ता गरेको हो ।
डाक्टरविहीन नगरमा एम्बुलेन्स दानमा, साँढे आठ करोडको भवनमा माकुराको जालो
तारकेश्वर नगरपालिका हाल डाक्टरविहीन छ । केन्द्रमा २ वर्षे सेवामा कार्यरत २ जना एमबीबीएस डाक्टरको अवधि सकिएपछि सांग्ला प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन हुन पुगेको हो । नगरमा यसअघि कार्यरत डा. नीतु लिम्बूको भदौ १२ गते र डा. प्रकृति मिश्रको भदौ १७ गते पदावधि सकिएपछि चिकित्सक विहीन भएको हो ।
चिकित्सक खाली भएसँगै चिकित्सक नियुक्त गर्ने भनेपनि नगरले हालसम्म चिकित्सक व्यवस्थापन गर्न नसकेको हो । आन्तरिक लगानीमै चिकित्सक व्यवस्था गर्नसक्ने नगरले बिरामीलाई पैसा बाँडेर नगरको पूर्वाधार र संरचना विस्तारमा भने उदासिनता देखाएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले भदौमै चिकित्सक व्यवस्था गर्ने बताएपनि गफैमा सीमित भएको हो । सँधैलाई काम हुनेगरी अस्पतालको संरचना र जनशक्तिमा पुँजिगत लगानी नगरेको नगरले संक्रमितलाई पैसा बाँडेर सजिलो बाटो रोजेको हो ।
राहत बाँडेर लाखौं खर्च गरेको नगरले एम्बुलेन्स भने दान मागेर व्यवस्था गरेको छ । जनप्रतिनिधिलाई चढ्न लाखौंको गाडी व्यवस्था गर्नसक्ने नगरले एम्बुलेन्स भने राष्ट्रिय नागरिक विकास समाजसँग मागेर सञ्चालन गर्ने बताएको हो । यद्यपी सो एम्बुलेन्समा राखेर उपचार गर्न जानुपर्ने अस्पताललाई भने कर्मचारीको क्वाटरमा सीमित राखेको हो ।
नगरपालिकाले आइसोलेसन चलाउन भनेर खाली गरेको अत्याधुनिक भवनबाट प्राथमिक स्वास्थ्य केन्द्र सारेर वडा नं १ कार्यालयमा सारेपनि नगरले आइसोलेसन भवन पनि खाली राखेको हो । भवन विभागले २०७२ सालमा ८ करोड ४३ लाख खर्चमा बनाएको भवन खाली राखेर प्राथमिक स्वास्थ्य केन्द्रलाई संरचना नभएको वडा कार्यालयमा सारेको नगरपालिकाले आइसोलसन सञ्चालन गर्न नसकेपछि त्यसको चौतर्फी आलोचना भएको छ ।