मन्त्रीको दशैं भत्ता कोरोना कोषमा, प्रदेश र स्थानीय सरकारलाई पनि नलिन आग्रह

काठमाडौं । सरकारले यस वर्षको दशैं भत्ता नलिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीसहित सम्पूर्ण मन्त्रीहरुले यस वर्षको दसैं भत्ता नलिने निर्णय गरेको हो ।

सोमबार बस्‍ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भए पनि प्रधानमन्त्रीको निर्देशनमा दशैं भत्ता कोरोना कोषमा जम्मा गर्न लागिएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए।

‘यस वर्षको दसै खर्चवापत प्राप्त रकम कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराइ यस रोगको नियन्त्रण र रोकथाम, उपचारमा सघाउ पुर्‍याउने निर्णय भएको छ,’ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले भने ।

सरकारले प्रदेश र स्थानीय तहका पदाधिकारीहरुलाई पनि यस वर्षको दसैं भत्ता नलिन र कोरोना नियन्त्रण कोषमा जमा गर्न आग्रह गरेको छ ।

‘प्रदेश र स्थानीय तहका पदाधिकारीहरुबाट पनि नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णयको मर्म अनुसार यस वर्षको दसैं खर्च कोरोना कोषमा जम्मा गर्ने व्यवस्था हुन हार्दिक आग्रह गर्न चाहन्छु,’ प्रवक्ता गुरुङले भने ।