तानपा र टोखामा अनधिकृत भूमिदोहन रोक्न भूगर्भ विभागको पत्राचार, तारकेश्वरले टेरेन

तारकेश्वर, २७ कात्तिक । तारकेश्वर र टोखा नगरपालिकामा पर्ने मध्यवर्ती क्षेत्रमा अवैध भूमिदोहन बढेपछि खानी तथा भूगर्भ विभागले तुरुन्त अनुगमन गरि कार्वाही प्रकृया अघि बढाउन दुवै स्थानीय तहलाई पत्राचार गरेको छ ।

मध्यवर्ती क्षेत्रमा जनप्रतिनिधिहरुकै मिलेमतोमा डोजर चलाउने, ढुंगा गिटी तथा बालुवा उत्खनन् गर्ने क्रम बढेपछि स्थानीयहरु कार्वाहीका विभागमा उजुरी गरेपछि विभागले नगरलाई पत्राचार गरेको हो । गृहमन्त्रालयले देशभरका अवैध क्रसरलाई रोक लगाउन आदेश दिएकै बखत खानी तथा भूगर्भ विभागले पनि स्थानीय तहको ध्यानकर्षण सहित पत्राचार गरेको हो ।

विभाग र मन्त्रालयको निर्देशन पाएसँगै टोखा नगरपालिकाले सबै वडाहरुलाई त्यस्ता कार्यमा रोक लगाउन पत्राचार गरेको छ । टोखा वडा नं १ र २ मा पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवैध खानी उत्खनन् भइरहेको उजुरीका आधारमा विभागले पत्राचार गरेको हो ।

तारकेश्वर नगरपालिकाले टेरेन

विभागको पत्रलाई लत्याउँदै तारकेश्वर नगरपालिकाभित्र भने नगरको वडा नं १ र २ मा पर्ने मध्यवर्ती क्षेत्रहरुमा खुलेयाम डोजर चलाउन दिएको छ । डोजर चलाउन वडा तथा नगरपालिकाबाट स्वीकृति नलिई वडा नं २ काभ्रेस्थलीमा जग्गा सम्याउने काम गर्दा स्थानीय सिचाई, ढलान र घरहरुमा समेत क्षति पुगेको काभ्रेस्थलीका स्थानीयले बताएका छन् ।