विदेशी नागरिकलाई मंसिर ३० सम्म नेपाल प्रवेशमा रोक,यी व्यक्तिले भने पाउनेछन् भिसा

काठमाडौं । विदेशी नागरिकलाई मंसिर ३० गतेसम्म नेपाल प्रवेशमा रोक लागाइएको छ ।
कात्तिक २४ गतेको मन्त्रिपरिषद बैठकले नेपाल प्रवेश गर्ने सबै प्रवेशविन्दु र खुला सीमानाकाको जुनसुकै ठाउँबाट हुनसक्ने आगमनलाई मंसिर ३० गतेसम्म रोक्ने निर्णय गरेसँगै विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लागेको हो ।

तर, नेपालस्थित विदेशी कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था र गैर सरकारी संस्थामा काम गर्ने विदेशी र उनिहरुका परिवार चाहिँ ७२ घण्टाभित्रको ‘नेगेटिभ पीसीआर परीक्षण रिपोर्ट’ देखाएर नेपाल आउन सक्ने व्यवस्था रहेको छ । अध्यागमन विभागले जारी गरेको सूचना अनुसार ५ वर्षमुनिका बाल बालिकाको हकमा पीसीआर रिपोर्ट आवश्यक छैन ।

‘अन्य विदेशी नागरिकललाई संस्थागत सिफारिसका आधारमा मात्र आगमन बिन्दुमा भिसा प्रदान गरिने छ’ अध्यागमन विभागले जारी गरेको सूचनामा भनिएको छ–‘परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय वा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा विदेशस्थित नेपाली कुटनैतिक नियोगको पूर्व स्वीकृति भए मात्र आगमन विन्दुमा भिसा जारी गरिने छ ।’