१८ बुँदे माग राख्दै सिसडोलबासी आन्दोलित, २० मंसिरसम्म पूरा नभए फोहोर फाल्न नदिने

काठमाडौं । विभिन्‍न १८ बुँदे माग राख्दै सिसडोलका बासिन्दा आन्दोलित भएका छन् । शिक्षा, स्वास्थ्य, सडकलगायत विकास निर्माण गर्नुपर्नेलगायत १८ बुँदे माग मंसिर २० गतेसम्म पूरा नभए फोहोर फाल्न नदिने भन्दै स्थानीय आन्दोलित भएका हुन् ।

वैज्ञानिक ढंगबाट फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, मानव स्वास्थ्यको पूर्ण ग्यारेन्टीसहित जीवन बिमा गर्नुपर्ने, विकास निर्माणका काम जनताले भनेअनुसार तत्काल सुरुवात गर्नुपर्ने उनीहरुको माग छ । जग्गा अधिग्रहण राजनीतिक दलका सीमित व्यक्तिका आधारमा प्रभावित क्षेत्रभित्र हुनुको औचित्य पुष्टि गर्नुपर्ने, प्रभावित क्षेत्र घोषणा हुनुपर्ने स्थानीयको माग छ ।

स्थानीय दिनेश कार्कीले बन्चरेडाँडामा ल्यान्डफिल साइट फोहोर फाल्न तयारी अवस्थामा रहे पनि आफ्ना माग पूरा नभएसम्म फाल्न नदिने बताए । जनताको न्यूनतम मागसमेत पूरा नगरी फोहोर फाल्ने तयारी भएपछि आफूहरु आन्दोलित भएको उनको भनाइ छ ।

यातायात, शिक्षा, स्वास्थ्य, पशु बिमा, बाली बिमाको तत्काल व्यवस्था गर्नुपर्ने, विकास निर्माणका लागि १६ वर्षदेखि विनियोजन भएको रकमको हिसाब-किताब गर्नुपर्ने, ८० शय्याको अस्पताल तत्काल निर्माण गर्नुपर्ने माग उनीहरुको छ ।

वातावरणलाई विगतमा जस्तै प्राकृतिक ढंगमा कायम गर्नुपर्ने र फोहोरको प्रभावबाट मानिस, पशुपक्षी, बोटबिरुवा सुरक्षित हुने ग्यारेन्टी गर्नुपर्ने स्थानीयको भनाइ छ । अर्का स्थानीय रामचन्द्र ढुंगानाले जनताले अहिलेसम्म काठमाडौंको फोहोर मात्रै खाएको बताए । स्थानीयको व्यवस्थापन नहुँदासम्म फोहोर फाल्न नदिने उनको भनाइ छ ।

स्थानीयले फोहोरबाट निस्कने लिचड (लेदो) पदार्थको उचित व्यवस्थापन हुनुपर्ने पनि बताएका छन् । मंसिर २० गतेसम्म आफ्ना माग पूरा गर्न अल्टिमेटम दिँदै स्थानीयले मानव बसोबासरहित फोहोरमैला व्यवस्थापन गर्दै जग्गा अधिग्रहण गर्नुपर्ने पनि बताएका छन् । फोहोरमैला व्यवस्थापन भएको ठाउँमा विस्फोट नहुने ग्यारेन्टी गर्नुपर्ने उनीहरुको माग छ ।

ककनी गाउँपालिका ३ का वडाध्यक्ष घनश्याम बजगाईंले फोहोरमा राजनीतिक नगर्न आग्रह गरे । काठमाडौं महानगरले आफूहरुमाथि मानवीय व्यवहार नगरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

वाग्मती प्रदेशका सांसद बद्री मैनालीले बस्ती भएको ठाउँमा फोहोर फाल्ने निर्णय नै गलत भएको बताए । फोहोर र मान्छे एकै ठाउँमा बस्‍न नसक्ने भएकाले यसको उचित व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

लामो समयदेखि काठमाडौं उपत्यकाको फोहार सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । पछिल्लो समय सिसडोल क्षेत्र भरिएपछि बन्चरेडाँडामा व्यवस्थापन गर्ने गरिएको छ । सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरिएको भन्दै स्थानीयले लामो समयदेखि समस्या समाधानका लागि आवाज उठाउँदै आएका छन् ।