प्रधानमन्त्री पत्नीद्धारा तारकेश्वरको निर्माण हुने मानवसेवा आश्रमको निर्माण स्थल अवलोकन(फोटोफिचर)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले तारकेश्वोर पाँचमानेमा निर्माण हुने मानवसेवा आश्रमको प्रस्तावित निर्माण स्थलको अवलोकन गरेकी छिन् ।
आइतबार तारकेश्वर नगरपालिका वडा न ३ पाँचमानेमा निर्माण हुन लागिएको धर्म भक्त माथेमा माहानगर मानव सेवा आश्रमको स्थलगत अवलोकन गरेकी हुन् ।
अवलोकन कार्यक्रममा शहरी बिकास राज्यमन्त्री रामवीर मानन्धर, तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा,, उपमेयर भवानी डोटेल लगायतको उपस्थिती रहेको थियो । अवलोकन गर्दै तारकेश्वर नगरपालिका मेयर रामेश्वर बोहराले मानव आश्रमको लागि उक्त स्थान राम्रो वातावरण भएको तारकेश्वर अनलाईलाई बताए ।
तारकेश्वर वडा न ३ पाचँमानेमा रहेको ४२ रोपनी सरकारी जमिन भएको स्थानमा चार रोपनी जग्गामा मानव सेवा आश्रम निर्माण हुन लागिएको हो । तीन सय बेड आश्रममा महिलाको लागि लक्ष्मी,पुरुषको लागि नारायण बालकको लागि बालगोपाल नाम रहनेछ ।
उक्त भवन सात करोड ३८ लाख लागत रहेको छ। यस भवन बनेपछि नेपाल मानव सेवा आश्रमले सञ्चालन गर्नेछ।
काठमाडौँ उपत्यकालाई बेसहारा सडक मानव मुक्त गर्ने लक्ष्यअनुसार अहिले यहाँ उद्धार अभियानलाई तीव्र पारिएको छ । रात्रीकालीन सडक सेवा नै सञ्चालन गरेर उद्धार थालिएको हो ।
उद्धार अभियान सञ्चालन गरिरहेको मानवसेवा आश्रमका अनुसार सामाजिक सङ्घसंस्था र सरकारी निकायसँगको समन्वयमा काठमाडौँ, ललितपुर र भक्तपुरमा उक्त अभियान सञ्चालन गरिएको छ ।
उनीहरुको व्यवस्थापन चुनौतीपूर्ण छ । सरकारले आगामी विसं २०७८ भित्र मुलुकलाई नै बेसहारा सडक मानव मुक्त बनाउने योजनाअघि सारेको छ ।
१४ मंसिर २०७७, आईतवार