नागार्जुन नगरपालिकाको रामकोटमा १५ शैय्याको आधारभूत अस्पतालको शिलान्यास

काठमाडौं । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ नागार्जुन नगरपालिका–७ स्थित बतासेपाखामा निर्माण हुन लागेको १५ शैय्याको रामकोट आधारभूत अस्पतालको शिलान्यास भएको छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी, नागार्जुन नगरपालिकका प्रमुख मोहन बस्नेतलगायतले अस्पतालको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा बोल्दै हृदयश त्रिपाठीले सरकारले पाँच शैय्याको अस्पताल निर्माण गर्न रु आठ करोड, १० श्ययाको अस्पतालका लागि रु ११ करोड र १५ श्ययाका अस्पताल निर्माणका लागि रु १८ करोड बजेट विनियोजन गरेको बताए ।

७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो ।

प्रदेश नं १ मा ३२, प्रदेश नं २ मा २०, वाग्मतीमा १९, गण्डकीमा ५३, लुम्बिनीमा ६०, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ स्थानीय तहमा अस्पताल निर्माण गरिने उनको भनाई थियो ।

सरकारले अस्पताल निर्माणका लागि पहिलो किस्ता सम्बन्धित स्थानीय तहमा पठाइसकेको छ । पहिलो चरणमा ३९६ स्थानीय तहलाई पाँचदेखि १५ शैय्याको अस्पताल बनाउन रु ६४ अर्ब नौ करोड पठाइएको छ ।

पाँच श्ययाको अस्पतालका लागि रु ७० लाख, १० श्ययाका लागि रु ८५ लाख र १५ श्ययाका लागि रु एक करोड पठाइसकिएको छ । अस्पताल निर्माणको सम्पूर्ण काम स्थानीय तहले गर्नेछन् ।