‘एल्मुनाई एक्सेलेन्स अवार्ड सुनील’ र ऋचालाई

नुवाकोट पौष २८ कुण्डला माविमा अध्ययनरत विद्यार्थीमध्ये शैक्षिक सत्र २०७७ को उत्कृष्ट छात्रा र छात्रलाई चौथो प्गलमबबि Kundala Alumni Excellency Award प्रदान गरिएको छ । विद्यालयको ५८ औं वार्षिकोत्सवका अवसरमा आइतबार कुण्डला भूपू विद्यार्थी समाजले उत्कृष्ट विद्यार्थी भाइबहिनीलाई उन्नति र प्रगतिको शुभकामनासहित सो अवार्ड प्रदान गरेको हो ।

कुण्डला भूपू विद्यार्थी समाजद्वारा स्थापित अक्षयकोषबाट आर्जित रकमबाट प्रत्येक वर्ष उत्कृष्ट विद्यार्थीलाई Excellency Award प्रदान गर्दै आइएको छ । आइतबार आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष सुश्मिता पाठकले विद्यालयमा अध्ययनरत सुनील तामाङ र छात्रा ऋचा खतिवडालाई अवार्डसहित शैक्षिक सामग्री प्रदान गर्नुभयो ।
सोही अवसरमा समाजका सचिव कञ्चन थापाले विद्यालय स्थापना कालमा महत्वपूर्ण सहयोग गर्नुहुने स्व.चन्द्रबहादर थापा र टुलकुमारी थापाको स्मृतिमा स्थापना गर्नुभएको पुरस्कार पनि ‘अल्मुनाइ’मार्फत प्रदान गरिएको छ । यस वर्ष सीता बञ्जारा र सुजन तामाङले सो पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर थापाले गाउँपालिकाबाट प्राप्त छात्रावृत्ति रकम विद्यालयका सबै छात्रा र दलित छात्रलाई प्रदान गर्नुभयो ।

कुण्डलामा अध्ययन गरी विश्वभर रहनुभएका पूर्व विद्यार्थी साथीलाई कुण्डला माविको शैक्षिक सुधारमा सहयोग गर्न आह्वान गर्दै उपाध्यक्ष पाठकले आगामी दिनमा विद्यार्थी तथा विद्यालयको शैक्षिक सुधारका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आफ्नो जन्मस्थानका बालबालिकाको उज्यालो भविष्यमा हातेमालो गर्नु सबै भूपू विद्यार्थीको कर्तव्य भएको उल्लेख गर्दै उहाँले अक्षय कोष स्थापनामा सहयोग गर्नुहुने कमलबहादुर तमाङलगायत संस्थालाई सहयोग गर्नेहरुप्रति धन्यवादन ज्ञापन गर्नुभयो ।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले विद्यालय भौतिक एवं शैक्षिक गुणस्तर सुधारमा निरन्तर लागिरहेको बताउनुभयो । उहाँले विद्यालयलाई सहयोग गर्दै आएको भूपू विद्यार्थी समाजलाई धन्यवाद दिँदै आगामी दिनमा निरन्तर विद्यालयसँग सहकार्य गर्न आग्रह गर्नुभयो । विद्यालयका प्रधानाध्यापक शम्भु यादवले भूपू विद्यार्थीलाई धन्यवाद दिँदै निरन्तर विद्यालयसँग सहकार्य गर्न आग्रह गर्नुभयो ।

उक्त समाज नुवाकोटको पञ्चकन्या–५ स्थित कुण्डला उच्च माध्यमिक विद्यालयका भूपूविद्यार्थीको सक्रियतामा २०७० सालमा गठन गरिएको हो । संस्था स्थापना भएदेखि नै समाजले विभिन्न सरकारी एवं गैरसरकारी संस्थाको सहकार्यमा वित्तीय सारक्षरता, शैक्षिक सुधार एवं सामाजिक सुधारका कार्यक्रम गर्दै आएको सुस्मिता पाठकले तारकेश्वर अनलाइन लाई जानकारी दिईन।
–––