ओलीको असंवैधानिक कदममा सहिछाप लगाउनु राष्ट्रपतिको राष्ट्रघातः नेता प्रधान

तारकेश्वर, ३ माघ । नेपाली काँग्रेसका नेता भिमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा सहिछाप लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रघात गरेको भन्दै तीव्र आलोचना गरेका छन् ।
नेपाली काँग्रेस तारकेश्वर नगरकमिटिले शनिवार धर्मस्थलीमा आयोजना गरेको विरोध र्याली र सभामा नेता प्रधानले ओली सरकारको आलोचना गरेका हुन् । केपी ओलीले तत्काल संसद विघटन फिर्ता लिएर संसद पुनस्थापना गरेमात्र उनको अस्तित्व नेपाली राजनीतिमा रहने नेता प्रधानको भनाइ छ ।
तारकेश्वर नगरकमिटिले काँग्रेस केन्द्रको निर्णय अनुसार शनिवार लामबगरको शिवमन्दिरबाट बाजागाजासहित नगरपालिकाको कार्यालय हुँदै धर्मस्थली बजार पुगेर विरोध सभा आयोजना गरिएको हो ।
विरोध कार्यक्रममा काँग्रेस जिल्ला सभापति सवुजकृष्ण बानियाँ, श्यामकृष्ण खड्गी, काठमार्डौं क्षेत्र नं ६ का सभापति, इन्द्रमान महर्जन, विष्णुभक्त तिमिल्सिना, काँग्रेस नगर सभापति श्रीराम थापा लगायतका नेता कार्यकर्ता सहभागी थिए ।
कार्यक्रममा ओली निकट नेकपा छाडेर १० भन्दा बढि व्यक्ति काँग्रेस प्रवेश गरेको स्थानीय नेता हरि तिमिल्सिनाले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।