मैले सुनेको छु, एउटा किसानले खेतमा एउटा पुत्ला मान्छे बनाएर उभ्याएको थियो । किसान खेतमा नक्कली मान्छे बनाएर उभ्याउँछन् । कुर्ता लगाइदिएको थियो, हाँडीको मुख बनाइदिएको थियो । जंगली जनावर त्यसलाई देखेर डराउँथे र भाग्दथे । पक्षी त्यो खेतमा आउन डराउँथे । एउटा दार्शनिक त्यही नक्कली मान्छेको समीप हिँडदै थियो ।
उसले त्यो झुठो मान्छेलाई सोध्यो, ‘मित्र, सधैँ यही उभिन्छौ, गर्मी, सर्दी, वर्षा आउँछ, अँधेरो हुन्छ, रात पर्छ, तिमी यहीँ उभिइ राख्छौ, दिक्क हुँदैनौ ? चिन्तित हुन्नौ ?’ त्यो नक्कली मान्छे हाँस्न थाल्यो । भन्यो : ‘चिन्तित कहिल्यै हुन्न, अरूलाई डराउन यति मजा आउँछ कि सर्दी, गर्मी, वर्षा, रात सबै गुजारीदिन्छु । अरू प्रभावित भएको देखेर, डराएको देखेर अत्यन्तै मजा आउँछ । अरूको आँखामा सक्कली देखिएको छु, कुरा खतम । पक्षी, जंगली जनावर म सक्कली मान्छे हुँ भनेर भय खान्छन् । उनीहरूको आँखामा म सच्चा हुँ भन्ने देखेर एकदमै आनन्द आउँछ ।’ उक्त दार्शनिकले भन्यो, ‘बडो आश्चर्यको कुरा हो । तिमीले जे भन्यौ, मेरो पनि हालत त्यही नै हो । म पनि, म को हुँ भन्ने अरूको आँखामा हेरेर आनन्द लिइरहेको हुन्छु ।’ त्यो झुटो मान्छे हाँस्न थाल्यो र भन्यो, ‘उसो भए मैले बुझेँ, तिमी पनि एक झुटो मान्छे हौ ।’ थाहा छैन, यो कुरो भयो कि भएन, तर झुटो मान्छेको पहिचान एउटै हो, ऊ सधैँ आफू कस्तो देखिएको छु भनेर अर्काको ऑखामा हेर्ने गर्दछ । उसलाई आफू कस्तो छु भन्ने मतलब छैन । उसको सारा चिन्ता र चेष्टा अरूको नजरमा कस्तो देखिने भन्नेमात्र हुन्छ । यी चारैतिरका मान्छेहरूले के भन्दछन् भन्नेमात्र हुन्छ । यो खोक्रो अध्यात्म, मान्छेहरूले के भन्छन् भन्ने चिन्ताबाट जन्मिएको हो । र, जो मान्छे अरूले के भन्दछन् भनेर सोच्दछ ऊ कहिल्यै जीवनको अनुभव उपलब्ध गर्न सक्दैन । जो मान्छे भीडले के भन्छ भनेर फिक्री गर्दछ, जो भीडको हिसाबले आफ्नो व्यक्तित्व निर्माण गर्दछ, ऊ आफूभित्र निदाएको प्राणलाई कहिल्यै ब्युँताउन सक्दैन । उ मान्छेहरूको ऑखामा असल देखिन बाहिरी आवरण ओढ्दछ ।

हामी त्यो देखिन्छौँ, जुन हामी हैनौँ । हामी त्यो देखिन्छौँ, जुन हामी कहिल्यै थिएनौँ । हामी त्यो देखिन्छौँ, जुन देखिँदा सुखद् महसुस हुन्छ, तर जुन हामी हुन्नौ । मैले सुनेँ, लन्डनको एउटा फोटोग्राफरले आफ्नो पसल अगाडि एउटा बोर्ड झुन्डाएको थियो । त्यसमा लेखिएको थियो, ‘यहाँ तीन किसिमको फोटो खिचिन्छ । पहिलो किसिमको फोटोको दाम पाँच रूपैयाँ । त्यो फोटो त्यस्तै हुनेछ जस्तो तपाईं हुनुहुन्छ । दोस्रो फोटोको दाम दस रूपैयाँ । यो त्यस्तो हुन्छ जस्तो तपाईं देखाउनुहुन्छ । तेस्रोको दाम पन्ध्र रूपैयाँ । यो त्यस्तो हुन्छ, जस्तो तपाईं देखिन चाहनुहुन्छ ।’ गाउँबाट एउटा मान्छे फोटो खिचाउन आयो, ऊ बडो अप्ठ्यारोमा प¥यो । उसले सोच्यो : एउटै मान्छेको फोटो तीन–तीन किसिमको कसरी हुन्छ ? फोटो त एकै किसिमको हुन्छ नि । जब पाँच रूपैयाँमा फोटो खिचिन्छ भने पन्ध्र रूपैयाँ तिरेर कसले फोटो खिच्ला । त्यो फोटोग्राफरले भन्यो, ‘अबोध मान्छे, तिमी पहिलो मान्छे हौ जो पहिलो किसिमको फोटो खिचाउने विचार गरिरहेछौ । आजसम्म कोही आएको थिएन । पैसा नभएकोले दोस्रो किसिमको अन्यथा तेस्रो किसिमको फोटोमात्र खिचाउँछन् यहाँ । पहिलो किसिमको त कसैले खिचाउँदैनन् ।’ कोही मान्छे चाहँदैन कि ऊ त्यस्तै देखियोस् जस्तो ऊ छ । न अरूलाई, न आफैँलाई नै । यसरी भित्री यात्रा हुन सक्दैन । किनकि भित्री यात्रा त सत्यको सिंढी चढेरमात्र हुन सक्दछ, असत्यको सिंढी चढेर हैन ।
र, ध्यान रहोस्, बाहिरी जगतमा यात्रा गर्नु छ भने असत्यको सिँढी नचढी यात्रा हुनै सक्दैन । यदि दिल्ली (पार्लियामेन्ट) पुग्न छ भने, असत्यको सिँढी नचढी यात्रा हुनै सक्दैन । तर, भित्र जानु छ भने सत्यको सिंढी नचढी हुन सक्दैन । यदि धनको थुप्रो लगाउनु छ, अत्यन्त यश, प्रतिष्ठा, नेतृत्व पाउनु छ भने, असत्यबाहेक अर्काे यात्रा छैन । बाहिरको सारा यात्रा असत्यको इँटाहरूले निर्मित छ । भित्रको यात्रा सत्यको सिँढीहरू चढेरमात्र हुन्छ । त्यसैले सूत्र हो : म जस्तो छु, त्यसैको साक्षात्कार ।
स्वामी देवसुन्दर (ओशो मिस्ट्री स्कूल, काभ्रेस्थली ) द्वारा ‘सम्भोग से समाधिकी और, अध्याय १६’ बाट अनुवादित ।