तारकेश्वरमा मेयरसहित अधिकांश वडाध्यक्ष ओली समुहमा, उपमेयर तटस्थ

तारकेश्वर, २२ माघ । नेकपामा विग्रह र विभाजनको सिलसिला चलिरहँदा पार्टीपंक्तीको तलदेखि माथि नेताकार्यकर्ता दुई खेमामा उभिएका छन् । जसको असर तारकेश्वर नगरमा पनि देखिएको छ ।तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा सहित अधिकांश वडाध्यक्ष केपी ओलीको समर्थनमा उभिएका छन्।

तारकेश्वर नगरपालिका वडा नं १ , ४, ५, ८, ९, १०, र ११ का वडाध्यक्षहरु क्रमश विदुर सापकोटा, नरेन्द्रदास श्रेष्ठ, वासु प्रसाद गौतम, मनोज कुमार घिमिरे, बलराम सिटौला, अमृत थापा, र बिन्दा बुढाथोकी पक्षमा देखिएका छन् । उनीहरु दैनिक काम छाडेर ओलीपक्षको शुक्रवार हुने भनिएको जनसभाको तयारीमा पनि लागेका छन् ।

त्यस्तै तारकेश्वरका दुईजना वडाध्यक्ष भने माधव प्रचण्ड समुहमा देखिएका छन् । वडा नं २ र ६ का वडाध्यक्ष्य रविन्द्र केसी र मधु कार्की प्रचण्ड माधव खेमामा उभिएका हुन् । उनीहरुले ओली सरकारले गरेको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भएको बताउँदै आएका छन्।

तर, नगरपालिकाको उपमेयर भवानी डोटेल तटस्थ रहेको पाइएको छ।
डोटेल स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट नगरपालिकाको उपाध्यक्षमा निर्वाचित भएतापनि अहिलेको अवस्थामा आफु कुन पक्षमा रहेको स्पष्ट संकेत गरेकी छैनन् ।

तारकेश्वर नगरपालिकाको मेयरदेखि वडाध्यक्ष र वडा सदस्यसम्म राजनैतिक विवाद र मतभिन्नतामा अल्झिंदा चालु आर्थिक वर्षको तेस्रो चौमासिक सकिन लाग्दा समेत नगरपालिकाले विकास बजेटमा न्यूनमात्र खर्च गर्नसकेको छ ।