अबको प्रधानमन्त्री केपी ओली कि शेरबहादुर: विष्णु रिमाल
तारकेश्वर माघ २६ । गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख १७ र २७ गते प्रतिनिधि सभा निर्वाचनको घोषणा गरे सँगै निर्वाचन आयोग चुनावको तयारीमा लागेको छ ।
ओलीले गरेको प्रतिनिधि सभा विघटनले नेकपा अनौपचारिक रुपमा विभाजन भएको छ।
यसै बिच प्रचण्ड-माधव समुहको नेकपाले संसद पुनर्स्थापनाको माग राख्दै देशव्यापी आन्दोलन गरिरहेको बेलामा ओली पक्षधर नेता कार्यकर्ता, अन्य राजनीतिक दल र जनताहरू अबको प्रधानमन्त्री को हुने भन्ने विषयमा तर्क वितर्क गर्न थालेका छन् ।
बुधबार नुवाकोट-काठमाडौं सम्पर्क मञ्च द्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार विष्णु रिमालले अबको प्रधानमन्त्री केपी ओली कि शेरबहादुर देउवा हुने बताए ।
प्रचण्ड र माधवकुमार नेपाल तर्फ इसारा गर्दै अरूले राजनीतिक सन्यास लिनु र फेरि ओली सँग मिल्नुको विकल्प नभएको बताए। उनले भने-अबको प्रधानमन्त्रीको उम्मेदवार को हुने भनेर हाजिर जवाफ गर्दा ओली र देउवाको मात्र नाम आउने छ ।