मंगलबार प्रधानमन्त्री ओली निर्वाचन आयोग पुगे

तारकेश्वर माघ, २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते प्रतिनिधि सभा निर्वाचनको घोषणा गरेका थिए ।
आगामी वैशाखमा हुने दुई चरणको निर्वाचनको व्यवस्थापनका लागि गत सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले १७ गते ४० ओटा जिल्लामा र २७ गते बाँकी ३७ ओटा जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।
प्रदेश २, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा पहिलो चरण र कर्णाली, वाग्मती, र प्रदेश १ मा दोस्रो चरणमा प्रतिनिधि सभा निर्वाचन हुने भएको छ।
यसरी सरकार चुनावको मिति र समय तोकेर निर्वाचनको तयारीमा लागिरहेको बेलामा प्रचण्ड माधव समुहको नेकपा भने संसद पुनर्स्थापनाको माग राख्दै वृहत जनप्रदर्शन र आन्दोलन गर्दै आएको छ ।
साथै प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई पनि भएको छैन । यस अवस्थामा प्रधानमन्त्री केपी ओली चुनावको तयारीमा जुट्न र व्यवस्थापनमा लाग्न निर्वाचन आयोगलाई निर्देशन दिँदै मंगलबार निर्वाचन आयोग पुगेका छन्।