नुवाकोटमा ओलीपक्ष अल्पमतमा, दुईवटा पालिका प्रमुखबाहेक बाँकी प्रचण्ड–माधव समूहमा

नुवाकोट फागुन, ६ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको विभाजनले नुवाकोटमा ओली निकट नेताहरु अल्पमतमा परेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा अनौपचारिक रुपमा दुई ध्रुवमा बाँडिएको छ।

केन्द्रीय कमिटी देखि स्थानीय वडा कमिटीसम्म नेकपा विभाजनको लहर चलिरहँदा नुवाकोट जिल्लामा केपी ओली निकट नेता कार्यकर्ता अल्पमतमा परेका हुन् ।

नुवाकोटका अधिकांश स्थानिय तहका मेयर, उपमेयर केपि ओलिको कदमको विरुद्धमा छन् भने प्रचण्ड–माधव समुहको समर्थनमा संसद पुनर्स्थापनाको माग राख्दै आएका छन्।

नुवाकोटमा बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्र रमण खनाल र तारकेश्वर गाउँपालिका प्रमुख रमेश वस्ती दुई जना मात्रै केपि ओलिको समर्थनमा छन भने विदुर नगरपालिकाका मेयर सन्जु पण्डित पण्डित, उपमेयर गिता कुमारी दाहाल, बेलकोटगढी नगरपालिका उपमेयर कविता ढुंगाना, तारकेश्वर गाउँपालिका उपमेयर तारा कार्की रिमाल, पन्चकन्या गाउँपालिका मेयर रमेश लामा ,लिखु गाउँपालिका उपमेयर रोजिना राई, ककनी गाउँपालिका मेयर मान बहादुर तामाङ्ग, उपमेयर सीता खतिवडा लगायतका अधिकांश जनप्रतिनिधिहरु प्रचण्ड माधव समुहको नेकपाको समर्थनमा आन्दोलन गरिरहेका छन् ।

नुवाकोटको दुप्चेश्वर,मेघाङ, किस्पाङ, सुर्यगढी र लिखु गाउँपालिकाका मेयरहरु काङ्ग्रेस पार्टीको नेता भएपनि केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनको विरुद्धमा स्थानीय तहबाट चर्को आन्दोलन गर्दै आइरहेका छन् ।

अधिकांश गाउँपालिका र विदुर नगरपालीकाले प्रचण्ड–माधव समुहको नेकपालाई समर्थन गरेसँगै नुवाकोटमा ओली समुहको नेकपा कम्जोर बन्न पुगेको हो ।

नुवाकोटमा स्थानीय, प्रादेशिक र संघीय तीनै तहको निर्वाचनमा ओली समुहले हाम्रो समुहको नेकपा सँग प्रतिस्पर्धा गर्न नसक्ने कुरा नेकपा नुवाकोटका युवा नेता तथा विदुर नगरपालिका वडा नं ६ का वडाध्यक्ष राजु सडौलाले तारकेश्वर अनलाईनलाई बताए ।