हठात् ढङ्गले प्रदेशसभाको बैठक स्थगित गरिएकोमा विवेकशील साझा पार्टीको ध्यानाकर्षण
काठमाडौं, फाल्गुण, ६ ।२०७७ माघ ७ गते बागमती प्रदेश सभाको सातौँ अधिवेशन सुरु भए यताको करिब एक महिनामा जम्मा दुइवटा मात्र बैठक बसेको छ ।
माघ ७ गतेको पहिलो बैठक औपचारिक शुभकामना आदानप्रदानमा सीमित रह्यो भने माघ ९ गते सत्ताधारी दल, नेकपाकै ४५ जना सदस्यहरूद्वारा मुख्यमन्त्री विरुद्ध दर्ता अविश्वासको प्रस्ताव टेबुल गरिएको थियो ।
त्यसयता सभाका बैठकहरू सञ्चालन हुन सकेका छैनन् । फलस्वरूप, प्रदेश सभामार्फत नागरिकका आवाज मुखरित गर्ने अवसर प्रदेश सभा सदस्यहरूले पाएका छैनन् । सत्ताधारी नेकपा भित्र देखिएको विवादको चपेटामा परेर प्रदेश सभाले आफ्नो बैठकसमेत सञ्चालन गर्न नसक्ने स्थिति उत्पन्न हुनुले आम जनमानसमा प्रदेश संरचनाप्रति नै वितृष्णा पैदा गराएको स्थिति छ ।
यसैबिच यही २०७७ फाल्गुण ५ गते, दिउँसो २ बजे बस्ने गरी तोकिएको प्रदेश सभाको बैठक अनायास ढङ्गले सूचना टाँस गरी अनिश्चित कालका लागि स्थगित गरिएको घटना प्रति विवेकशील साझा पार्टीले गंभिर ध्यानाकर्षण गरेको छ ।
विगतमा कार्य व्यवस्था परामर्श समितिको बैठक बसी उक्त समितिको सल्लाहको आधारमा सभा सञ्चालन गर्ने र कार्यसूची तय गर्ने सम्बन्धी आवश्यक निर्णयहरू हुँदै आएकोमा हाल आएर सभामुखको हठात् निर्णयद्वारा एकाबिहानै गरिएको स्थगन अस्वाभाविक भएको विवेकशील साझा पार्टीले बताएको छ ।
२०७७ पौष १० गते प्रदेश मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको र २०७७ माघ ९ गते प्रदेश सभामा प्रस्ताव टेबुल समेत भैसकेको सन्दर्भमा विना कुनै विलम्ब यो विषयमाथि छलफल गरी निष्कर्षमा पुग्नु नै प्रदेश सभाको प्राथमिक कार्यभार हुनु पर्दछ भन्ने भनाई विवेकशील साझा पार्टीले व्यक्त गरेको छ ।
अतः सभामुखमाथि अनावश्यक दबाब सृजना गरी अविश्वासको प्रस्तावबाट भाग्न खोज्ने प्रदेश सरकारको प्रविर्तिको विरोध गर्ने र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै स्थगित प्रदेश सभा शीघ्र सुचारु गर्न विवेकशील साझा पार्टीले विज्ञप्ती निकालेको छ ।
६ फाल्गुन २०७७, बिहीबार