तारकेश्वर नगरपालिकामा कोभिड भत्ताको हिसाव गोलमाल, नगर र वडापिच्छे छुट्टाछुट्टै विवरण

तारकेश्वर, ६ फागुन । कोभिड १९ लागेका नगरबासीका लागि अस्पताल चलाउन नसकेर होम आइसोलसनमा बस्नेलाई जनही ५ हजार बाँड्ने उल्टो निर्णय गरेको तारकेश्वर नगरपालिकाले अनुत्पादक रुपमा ५३ लाख स्वाहा पारेको छ ।

सांग्लास्थित करोडौं लगानीमा बनेको अस्पताललाई भूत बंगला बनाएको नगरप्रशासनले होम आइसोलेसनमा बस्नेहरुलाई पैसा बाँड्ने भन्दै सस्तो प्रचारवाजी गरेको थियो । तर, कोभिड संक्रमण ह्वात्तै बढेपछि नगरपालिकाले सो निर्णयबाट पछाडी हट्दै नगरवासीमाथि भेदभाव पनि गरेको छ । भत्ताका नाममा बाँडेकै पैसा र त्यसको विवरणमा समेत नगर र वडाको तथ्यांक बाझिएको छ ।

नगरपालिकालाई आइसोलेसन सेन्टर र अस्पताल सञ्चालनमा ल्याउन चौतर्फी दबाब भएपनि नगरकार्यपालिकाले बिरामीलाई पैसा बाँड्ने अपरिपक्व निर्णय गरेको थियो । सयौंको संख्यामा कोरोना संक्रमितले भत्ताका लागि विवरण पेश गर्न थालेपछि आँत्तिएको नगरप्रशासनले गत मंसिर १५ गतेसम्म विवरण पेश भएकालाई मात्र भत्ता दिने अर्को निर्णय गरेको हो । जसले गर्दा सुरुको साँढे चारमहिनामा बिरामी भएर होमआइसोलेसनमा बसेका बिरामीले मात्र नगरपालिकाबाट भत्ता पाएका छन् । ती मध्येपनि ३ सय ३१ जनाले रकम लिन बाँकी रहेको नगरपालिकाको तथ्यांकमा उल्लेख छ । तर, वडाहरुको तथ्यांक हेर्दा भने सो अवधिकै मात्र अझै ३ सय १० जनामात्र देखिएका छन् । त्यस्तै नगरपालिकाका अनुसार हालसम्म १ हजार ६० जनाले पाँचहजारका दरले भत्ता बुझेका छन् । तर, वडाहरुबाट संकलित विवरणमा भने १ हजार २६ जनाले मात्र होम आइसोलेसन भत्ता पाएका छन् ।

एकातिर कोभिड भएका नगरबासी कसैले भत्ता पाउने कसैले नपाउने भयो भने अर्कोतिर सोही अवधिमा कोभिड भएर कागजात पुगेकाले पनि भत्ता पाएका छैनन् । कोभिड भत्ता लिनेहरुको विवरण हेर्दा सबैभन्दा बढि वडा नं १० का १ सय ६० जनाले भत्ता पाएका छन् भने सबैभन्दा कम वडा नं ३ का १० जनाले ५ हजार भत्ता लिएका छन् । नगरपालिकाले यही भत्ता बाँडेको विवरण पनि सार्वजनिक गर्न आनाकानी गरेको छ । तारकेश्वर अनलाईनको निरन्तरको फलोअप र लिखित रुपमा सूचना माग गरेपछि मात्र नगरप्रशासनले तथ्यांक दिएको हो । जुन तथ्यांक वडाहरुको विवरणसँग नमिल्नुपनि शंकास्पद रहेको छ ।

२० लाख खर्च गर्दा सँधै सञ्चालनमा आउनसक्ने करिब १० करोड लगानीमा बनेको सांग्ला प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा आइसोलेसन र कोभिड अस्पताल बनाउने भनेपनि अनुत्पादक रुपमा भत्ताका नाममा नगरपालिकाले ५३ लाख बजेट स्वाहा पारेको हो ।–दिवस ढकाल

६ फाल्गुन २०७७, बिहीबार