नेकपा विभाजनको असर नुवाकोट अनेरास्ववियुमा पनि, दुईपक्षबीच विद्यार्थी नेता तानातान

नुवाकोट, १० फागुन । अनेरास्ववियु जिल्ला कमिटी नुवाकोटमा नेकपा विभाजनले विद्यार्थी संगठनमा समेत ठूलो रस्साकस्सी निम्त्याएको छ । अनेरास्ववियु जिल्ला कमिटी नुवाकोटका बहुसंख्यक विद्यार्थी आ आफ्नो नेताहरुको समर्थन रहेको पाइएको छ ।त्यस्तै केही विद्यार्थी नेताहरु हालसम्म तटस्थ रहेको विवरण प्राप्त भएको छ ।

तत्कालीन विद्यार्थी संगठन पूर्व आखिल क्रान्तिकारी र अखिल नेपालबीच एकता भएपछि अनेरास्ववियु नुवाकोटको संयोजकमा पूर्व एमालेका विष्णु दाहाल र सहसंयोजकमा पूर्व माओवादीका विनोद कोइराला चयन भएका थिए।

३२ जना पुर्व अनेरास्ववियु तथा २९ जना पूर्व आखिल क्रान्तिकारीका विद्यार्थी गरि जम्मा ६१ जनाको अनेरास्ववियु जिल्ला कमिटी गठन भएको थियो।

प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै पार्टीको विभाजनले विद्यार्थी संगठन पनि विभाजित हुन पुगेको हो ।

नुवाकोटमा अनेरास्ववियु तत्कालीन संयोजक विष्णु दाहालको साथमा पूर्व संगठनका ३२ जना सहित संगठनमा नयाँ चयन गरिएका केही विद्यार्थीहरुले पनि केपी ओलीको समर्थन गरेको ओली पक्षीय विद्यार्थी नेताहरुको दावी छ ।

त्यस्तै अनेरास्ववियु सहसंयोजक विनोद कोइरालाको साथमा पनि पूर्व माओवादी र एमालेका समेत विद्यार्थी रहेको दावी गरिएको छ । अनेरास्ववियु नुवाकोटको विद्यार्थी राजनीति चाखलाग्दो नहुनु र नेतृत्व तहमा स्थायीत्व नआउनाले पुर्व अनेरास्ववियु संगठनका कतिपय सक्रिय बिद्यार्थी तटस्थ रहेको पाइएको छ।

नुवाकोटमा केपी ओली निकट अनेरास्ववियुले बिष्णुहरी रिमालको संयोजकत्वमा बनेको जिल्ला कमिटीमा हाल ९९ सदस्य रहेको ओली निकट अनेरास्ववियु जिल्ला सचिव प्रसान्त जंग पाण्डेले तारकेश्वर अनलाईनलाई बताए । हाल ओली निकट विद्यार्थीहरु गाउँ कमिटी विस्तार गरिरहेका छन् भने प्रचण्ड माधव निकट अनेरास्ववियु हाल जिल्ला कमिटी विस्तार गर्ने गृहकार्यमा जुटेको देखिन्छ ।

नुवाकोटमा पूर्व अनेरास्ववियु जिल्ला कमिटीमा रहेका ओलीपक्षधर ३ जना विद्यार्थी प्रचण्डमाधव समुहको समर्थनमा गएका छन् भने प्रचण्ड माधव समुहबाट २ जना विद्यार्थी ओली समुहमा प्रवेश गरेका छन् ।

नुवाकोटमा ओली पक्षबाट तत्कालीन अनेरास्ववियु जिल्ला कमिटीको कार्यालय सदस्य र हाल ओली समुहबाटै अनेरास्ववियु केन्द्रिय सदस्यमा सिफारिस गरिएका राजन ढकाल र रुपक रिजाल तटस्थ रहेको भनिएपनि आइतबार एक्कासी समाजिक सञ्जालमा नेकपा बरिष्ठ नेता झलनाथ खनालसँग बसेको तस्वीर सहितको स्वास्थ्य लाभको कामना दिनुले ओलीपक्षीय विद्यार्थीहरु सशंकित भएका छन् ।

पूर्व एमाले तथा अनेरास्ववियु जिल्ला कमिटिका सक्रिय विद्यार्थी नेता ओम प्रकाश श्रेष्ठ र निलकण्ठ आचार्य पनि प्रचण्ड माधवको समर्थनमा लागेर प्रधानमन्त्री केपी ओलीको विरुद्ध आन्दोलन गरिरहेको देखिन्छ।

हाल नुवाकोटमा दुबै समुहका अनेरास्ववियु विभिन्न आन्दोलन र कार्यक्रमहरुको अस्वस्थ प्रतिस्पर्धा गरिरहेका छन्।

ओली निकट र प्रचण्ड माधव निकट दुबै समुहका विद्यार्थीहरु आक्रमक रुपमा एकअर्का विरुद्ध प्रस्तुत भइरहेका छन्।

१० फाल्गुन २०७७, सोमबार