श्री स्वस्थानी ब्रतकथा समापन हुँदै
तारकेश्वर फागुन,१५ । पौष शुक्ल पूर्णिमा देखि सुरु भएको एक महिने श्री स्वस्थानी ब्रतकथा आज माघ शुक्ल पूर्णिमाको दिन विधिवत् रूपमा सम्पन्न गर्न लागिएको छ।
माघ महिनाभरि स्नान गरेर श्री स्वस्थानी परमेश्वरीको पुजा , स्वस्थानी कथा वाचन र श्रवण गरेर एक छाक मात्रै खाना खाएमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको स्वस्थानी ब्रतकथा आज बाट अर्को पौष शुक्ल पूर्णिमा सम्मको लागि विसर्जन गरिन्छ।
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा श्रवण गर्ने र पूजाआजा गर्ने चलन रहेको छ ।
व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्रीमध्ये आठ रोटी, सुपारी र पानलगायत सामग्री आफ्ना श्रीमानलाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई दिने र मीत छोरा पनि नभए आफ्नो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयंले खाने प्रचलन रहेको छ ।