रसुवामा ३७१ जना महिलासहित ६२५ लाई अपाङ्गता परिचयपत्र प्रदान

रसृुवा २९ , फागुन । रसुवामा अपाङ्गता भएका व्यक्तिको पहिचान गरी विभिन्न निकायबाट पाउने सेवा सुविधा उपलब्ध गराउने कार्यमा सहज पार्न परिचय वितरण कार्य भइरहेको छ ।
रसुवा अपाङ्ग पुनःस्थापना केन्द्रको समन्वयमा हाल ३७१ महिलासहित ६२५ लाई अपाङ्गताको पहिचान गर्ने परिचय प्रदान गरिसकेको छ ।
तथ्याङक अनुसार रसुवामा अपाङ्गता भएका व्यक्ति करिब एक हजारको हाराहारीमा रहेको केन्द्रले बताएको छ ।
अपाङ्गता भएका नागरिकलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउन स्थानीय तहलगायत सबै निकायसँग समन्वय गरिरहेको रसुवा अपाङ्ग पुनःस्थापना केन्द्रका अध्यक्षले बताए ।
रसुवाको पाँच गाउँपालिकामध्ये गोसाइँकुण्ड गाउँपालिकामा प्राविधिक साझेदारी कार्यक्रमअन्तर्गत ह्याण्डिक्याप इन्टरनेशनल फेडरेसन नेपालको सहयोगमा अपाङ्गता भएका व्यक्तिलाई केन्द्रित गरी स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र जीविकोपार्जनका कार्य योजना बनाउने कार्य भइरहेको छ ।
ह्याण्डीक्यापसँगको साझेदारीमा विपद् न्यूनीकरणका लागि पूर्वतयारीका कार्यक्रम अगाडि बढाएको कार्यक्रम अधिकृत छिरिङ लामाले बताए ।
रसुवामा रहेका अपाङ्ग भएका व्यक्तिको पहिचान तथा यकिन तथ्याङ्क लिने काममा राष्ट्रिय अपाङ्ग महासङ्घले पनि सहकार्य गरिरहेको छ ।
अहिलेसम्म उत्तरगया गाउँपालिकामा ३०० एवं गोसाइँकुण्ड गाउँपालिकामा १३९ अपाङ्गता भएका व्यक्तिको लगत सङ्कलन गर्ने कार्य सम्पन्न भइसकेको छ ।
२९ फाल्गुन २०७७, शनिबार