आफु सिस्टममा काम गर्ने भएकोले नुवाकोटमा काम गर्न सहज हुने ठानेको छुः प्रजिअ दुलाल

नुवाकोट ५, चैत । नुवाकोटका तत्कालिन सिडिओ झङ्कनाथ ढकालको सरुवा भएर नुवाकोटका लागि जीवन प्रसाद दुलाल प्रमुख जिल्ला अधिकारीको रुपमा आएको दुईसाता मात्रै भएको छ ।
नुवाकोटको जिल्ला प्रशासन कार्यालयमा फागुन १७ गतेबाट हाजिर भएका दुलालले आफ्नो कामप्रति निष्ठावान भएर काम गर्ने बताएका छन् ।
आफु सरकारी वेतनधारी र सिस्टममा रहेर काम गर्ने कर्मचारी भएकोले नुवाकोटमा काम गर्न असहज महसुस नहुने आशा गरेको दुलालले तारकेश्वर अनलाईनसँगको कुराकानीमा बताए ।
जस्तोसुकै चुनौतिको सामना गर्न तयार छु
आफु र आफ्नो टिमले कानुनको परिधिभित्र रहेर जस्तोसुकै चुनौतीको पनि सामना गर्ने दुलालले दावी गरेका छन् ।
“भर्खरै काम गर्न थालेको दुई साता मात्र भएको छ , अहिले सुरुको पिरियडमा छु काम गर्न असहज महसुस भएको छैन ।” – दुलालले भने ।
नुवाकोट जिल्लामा हुने हरेक सरकारी कामलाई चुस्तदुरुस्त राख्ने दाबी गर्दै उनले हाल नुवाकोटमा वनजङ्गल तथा अन्य सम्पदाहरूमा आगलागीको जोखिम धेरै भएकाले आगलागी तथा अन्य प्राकृतिक जोखिमको न्युनिकरण गर्ने , समाधान र पीडितलाई राहतको योजनामा पुर्व तयारी गरिरहेको जानकारी दिए ।
हरेक समस्यामा जिल्ला प्रशासनसँग समन्वय गर्न र हरेक प्राकृतिक विपत्तिमा सहकार्य गरेर मद्दत गर्न सम्पूर्ण जिल्लाबासीलाई सिडिओ दुलालले अनुरोध पनि गरेका छन् ।