तारकेश्वर नगरमा आर्थिक वर्ष २०७७/७८को दोस्रो चौमासिक सकिँदा एकतिहाई बजेटमात्र खर्च, प्रगति शून्य

तारकेश्वर ११, चैत । तारकेश्वर नगरपालिकामा चालु आर्थिक वर्ष २०७७/७८को दोस्रो चौमासिक सकिँदा सम्म जम्मा बजेटको एक तिहाइ बजेट पनि खर्च हुन सकेको छैन ।
चालु आर्थिक वर्षमा तारकेश्वर नगरपालिकामा कुल विनियोजित बजेटको चालुगत तर्फ ५५ करोड ८४ लाख ६४ हजार २ सय ९० रुपैयाँ बजेट विनियोजन गरेको थियो भने पुँजीगत तर्फ १ अर्ब १७ करोड ५५ लाख ८६ हजार बजेट विनियोजन गरेको थियो ।
चालु आर्थिक वर्षमा दोस्रो चौमासिक सकिँदा सम्म तारकेश्वर नगरपालिकाले चालुगत तर्फ विनियोजित बजेटबाट २५ करोड ५९ लाख २६ हजार ९ सय २० रुपैयाँ खर्च गर्दा ३० करोड २५ लाख ३७ हजार ३ सय ६० रुपैयाँ मात्र बाँकी छ भने पुँजीगत तर्फ ४२ करोड १६ लाख ५८ हजार ६ सय ५९ रुपैयाँ मात्र खर्च गरेको र ७५ करोड ३९ लाख २७ हजार ३ सय ४१ रुपैयाँ अझैपनि बाँकी रहेको छ ।
चालुगत बजेट ५० प्रतिशत भन्दा बढी खर्च हुँदा, पुँजीगत बजेट २५ प्रतिशत खर्चमा सीमित
नगरपालिकामा चालु आर्थिक वर्षको चालुगत बजेट ५० प्रतिशत भन्दा बढी खर्च हुँदा पुँजीगत बजेटको खर्च २५ प्रतिशतमा सीमित देखिन्छ ।
यस तथ्याङ्कलाई विश्लेषण गर्दा नगरपालिकाले विकास निर्माणको योजनालाई कार्यान्वयन गर्न सकेको देखिँदैन ।
आर्थिक वर्षको दोस्रो चौमासिक सकिँदा सम्म पुँजीगत बजेटको ८० प्रतिशत भन्दा माथि सकिनुपर्ने भए पनि तारकेश्वर नगरपालिका बजेट कार्यान्वयनमा चुकिरहेको देखिन्छ ।
नगर प्रमुख रामेश्वर बोहरा भने कोरोना भाईरसको प्रभावका कारण नगरपालिकाले योजना कार्यान्वयनमा बजेट खर्च गर्ने नसकेको बताइरहेका छन् । नगरप्रमुख बोहोराले बजेट खर्च नहुनुमा आफ्नो स्पष्ट धारणा दिएका छैनन् ।
दोस्रो चौमासिक सकिँदा पनि ३४.३५ प्रतिशत योजना मात्र सम्पन्न, योजनाको कार्यान्वयन हुन नसक्दा प्रगति शुन्य
तारकेश्वर नगरपालिकामा आर्थिक वर्ष २०७७/७८ मा नगरसभाबाट पारित भएको ८ सय ५८ ओटा योजना मध्ये ४ सय ५८ ओटा योजना मात्र सम्झौता भएको र सम्झौता भएको योजनामा २ सय १० ओटा योजना सम्पन्न भएको छ भने २ सय ४८ ओटा योजनाहरु सम्पन्न हुन बाँकी अवस्थामा रहेको योजना शाखाले जानकारी दिएको छ ।
नगरपालिकाले आठौँ नगरसभा सम्पन्न गरिसक्दा सम्म सभामा छलफल गर्ने तर कार्यान्वयन चरणमा चुकिरहेको छ ।