प्रदूषण बढेसँगै देशभरको तापमान घट्यो

तारकेश्वर १७, चैत।वायुमण्डलमा देखिएको प्रदुषणका कारण काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानको तापक्रम घटेको छ ।
प्रदूषणले वायुमण्डल ढाकेको र सूर्यको किरण र ताप धर्तीमा आउन नसकेकोले तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
काठमाडौँमा २९ डिग्री सेल्सियससम्म पुगिसकेको तापक्रम अहिले घटेर अधिकतम २४ डिग्री सेल्सियस र न्यूनतम १०.८ डिग्री सेल्सियसमा झरेको छ ।
मौसमविद्का अनुसार तत्काल पानी नपर्ने र तापक्रम अझै घट्न सक्छ ।
एक साताअघि ३८ डिग्री सेल्सियस नाघेको नेपालगञ्जको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस आसपासमा झरेको छ । गर्मी हुने भैरहवा, सिमरा र विराटनगरको तापक्रम ३४ डिग्री सेल्सियसकै आसपास छ ।
पहाडी जिल्ला ताप्लेजुङ, ओखलढुङ्गा, डडेल्धुरालगायतका क्षेत्रमा अधिकतम तापक्रम २२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको छ ।