फेरि देशभरी बढ्यो वायु प्रदूषण

 

तारकेश्वर २३, चैत । देशभरि फेरि वायु प्रदुषण बढेको छ । गत बिहीबार साँझ परेको वर्षाले केही प्रदुषण घटे पनि आइतबारदेखि फेरि बढेको छ । हाल देशका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कणहरु छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तुवाँलो लागिरहेको छ ।

मुलुकका अधिकांश जिल्लाका धेरै स्थानमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको तथ्याङ्कअनुसार सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदुषण धनगढीमा छ । धनगढी एयर क्वालिटी इन्डेक्स (ए क्यु आई) ४२९ पुगेको छ । चितवनमा एक्युआई ३९८ छ भने ललितपुरमा एक्युआई ३२५ छ ।

एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण मानिन्छ । ३ सयभन्दा माथि जानु चाहिँ घातक हो ।

तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या जस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अुनरोध गरेको छ । दिउँसो थोरै घाम लागे पनि तुवाँलो पूरै हट्ने विभागको अनुमान छ ।

वायु प्रदुषणले खतराको तह पार गरेपछि गत साता सरकारले तीन दिन देशभरका विद्यालय बन्द गरेको थियो । आइतबारदेखि विद्यालय फेरि खुले पनि प्रदुषण फेरि ह्वात्तै बढेको छ ।

वायु प्रदुषणले गर्दा काठमाडौं उपत्यकामा एक्कासि चिसो बढेको महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस छ तर पनि मौसम सुक्खा भएका कारण चिसो बढेको हो ।देशका केही भु–भागमा पार्नी पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै ‘देशका पहाडी भू-भागमा आंशिक बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले बताएको छ ।

२३ चैत्र २०७७, सोमबार