कोभिड नियन्त्रण र उपचारमा माखो नमारेको तानापाको तजविजी सूचना

तारकेश्वर २७, चैत । काठमाडौंको तारकेश्वर नगरपालिकाले नगरबासीको स्वास्थ्यको बिषयमा खेलवाडजनक कार्यहरू मात्र गरिरहेको छ ।
तारकेश्वरमा कोभिड १९ बाट सङ्क्रमितलाई तत्कालीन समयमा पनि अस्पताल र स्वास्थ्य सेवा सामग्रीहरुको व्यवस्थापन नगरेर आइसोलेसनमा बस्ने बिरामीलाई जनही पाँच हजार बाँड्ने जस्तो अपरिपक्व निर्णय गरेर नगरपालिका चोखो बनेको थियो । नगरपालिकाबाट निर्णय हुने हरेक कार्यक्रमहरुबाट समग्र नगरबासीले फाइदा लिन सकेको देखिँदैन ।
साङलास्थित करोडौंको लगानीमा अस्पताल भवन बनाएको तारकेश्वर नगरपालिकाले आज सम्म पनि न्युनतम सेवा मापदण्ड अनुसारको न्युनतम सेवा सुविधा समेत दिन सकेको छैन । तारकेश्वर नगरपालिकाले गरेका निर्णयहरु परिपक्व नहुँदा नगरबासी जनप्रतिनिधिलाई लिएर गुनासो गरिरहेका छन् ।
तानपामा जनप्रतिनिधिका आसेपासेलाईमात्र कोभिड भत्ता, नाम सार्वजनिक भएको ५ महिना बित्न लाग्दासमेत भत्ता आएन
कोरोना भाइरस (कोभिड १९) भएका नगरबासीहरुमा कसैले भत्ता पाउने कसैले नपाउने भएको छ । एकै समयमा कोभिड संक्रमण पुष्टि भएको कागजात पुगेकाहरुमा सबैले भत्ता पाएका छैनन् ।
केहि समय अगाडी भत्ता बाँडेको विवरण समेत दिन आनाकानी गरेको नगरपालिकाले तारकेश्वर अनलाईनको लिखित निवेदनलाई नकार्न नसकेर तथ्याङ्क दिएको थियो ।
जुन तथ्याङ्क वडाको तथ्याङ्कसँग मिल्न नजाँदा आर्थिक अनियमिता भएको प्रष्ट देखिएको थियो । करिब दुई महिना अगाडि अब बाँकी रहेका मानिसहरुलाई पोषण भत्ता वितरण गर्नुहुन्छ भन्ने तारकेश्वर अनलाईनको प्रस्नमा नगर प्रमुख रामेश्वर बोहराले उत्तर दिँदै अब दुईतिन दिन भित्रै वितरण गर्ने बताएका थिए । तर आजसम्म पनि वितरण नभएको तारकेश्वर नगरपालिका लेखा शाखा प्रमुख खिलानाथ बास्कोटाले तारकेश्वर अनलाईन सँगको कुराकानीमा बताएका छन् ।
कोभिड भत्ताको नाउँमा अनुत्पादक क्षेत्रमा पैसा बाँड्दा पनि भेदभाव
करिब १० करोड रुपैयाँको लागतमा बनेको साङला प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा आइसोलेसन र कोभिड अस्पताल बनाउने निर्णय लतार्दै ५३ लाख बजेट अनुत्पादक क्षेत्रमा खर्च गरेको नगरपालिकाले सो निर्णयलाई पनि पुर्ण रुपमा कार्यन्वयन गर्न सकेको छैन । जसको प्रत्यक्ष असर नगरबासीमा परेको छ ।
मसँगै कोरोना संक्रमण पुष्टि भएको कागजात बुझाउने अर्को व्यक्तिको तुरुन्तै कोभिड भत्ता आयो , मलाई चाँही बजेट सकियो अब केही दिनपछि दिने छौं , भनेको त्यही आशामा ४ महिना बितिसक्यो । ( एक पीडित स्थानीयले बताए ।
यसरी प्रत्यक्ष रुपमा अगाडि आएर जनताले समस्य बताइरहँदा नगरपालिका भने कानमा तेल हालेर बसेको छ । यसरी कोभिड नियन्त्रण र उपचारमा माखो नमारेको तारकेश्वर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाउन र भेला नहुनु भन्दै देखावटी सूचना जारी गरेको छ ।
पछिल्लो समय कोरोनाको बढिरहेको भएपनि तारकेश्वर नगरपालिकाले कोरोना परीक्षणको संयन्त्र र सङ्क्रमणबाट कसरी जोगिने भन्ने बिषयमा कुनै निर्णय गरेको छैन ।