तारकेश्वरमा जेष्ठ नागरिकहरुको आँखा तथा ल्याव परीक्षणमा आर्थिक अनियिमीतता, स्वास्थ्य प्रमुखको मिलेमतोमा ३ लाख भ्रष्टाचार
तारकेश्वर ११, वैशाख । काठमाडौंको तारकेश्वर नगरपालिकाले गत फागुन १४ गते सम्पन्न गरेको जेष्ठ नागरिकहरूको आँखा तथा ल्याव परीक्षणमा आर्थिक अनियमितता गरेको खुलेको छ ।
तारकेश्वर नगरपालिकाले चालु आर्थिक वर्ष २०७७र०७८ मा नगरपालिका भित्रका जेष्ठ नागरिकहरूलाई आँखा तथा ल्याव परीक्षण कार्यक्रम आयोजना गर्ने निति तथा कार्यक्रम अनुसार गत फागुन १४ गते उक्त कार्यक्रम सम्पन्न गरेको हो।
उक्त कार्यक्रम माघ १९ गते वडा नं १ को साङला स्वास्थ केन्द्रबाट सुरु भएर वडा नं ६ को धर्मस्थली स्वास्थ्य चौकीमा आएर फागुन १४ गते सम्पन्न भएको थियो । कार्यक्रम नगरपालिकाको ११ वटै वडामा सञ्चालन भएको हो ।
तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखाले तारकेश्वर अनलाईनलाई उपलब्ध गराएको विवरण अनुसार ११ वटै वडाबाट जम्मा १ हजार ३ सय ११ जना जेष्ठ नागरिकहरू कार्यक्रममा सहभागी भएका थिए ।
जस्मा ५ सय ८५ जनालाई चस्मा वितरण गरिएको थियो र आँखा परीक्षणमा १ सय ७६ जनामा मोतिबिन्दु समस्या देखा परेको थियो । त्यस्तै ल्याव परीक्षणमा ४ सय ४३ जना सुगरको बिरामी देखा परेको थिए भने ९३ जनाको किड्नी फङ्सन नराम्रो भएको नगरपालिकाले उपलब्ध गराएको विवरणमा उल्लेख गरिएको छ उक्त कार्यक्रममा सबै भन्दा बढी वडा नं ३ को जीतपुर स्वास्थ चौकीमा जेष्ठ नागरिकहरुले आँखा तथा स्वास्थ परीक्षण गराएका थिए।
उक्त आँखा तथा ल्याव परीक्षणमा भएको खर्चको विवरण मौखिक रुपमा पटक पटक १५ लाख खर्च भएको बताउँदै आएका स्वास्थ्य शाखा प्रमुख विनोद कुमार शाहसँग हिसाबको कागजी विवरण माग्दा खर्चको विवरण लेखापरीक्षकले मात्र हेर्न पाउने भनेर टारेका थिए ।
तारकेश्वर अनलाईनले चारौँ पटकसम्म कार्यलयमा गएर खर्चको हिसाब माग्दा नदिएको स्वास्थ्य शाखाले पछिल्लो पटक बाध्य भएर हिसाबको विवरण उपलब्ध गराएको हो ।
स्वास्थ्य शाखा कर्मचारीको मिलेमतोमा ३ लाख भन्दा बढी भ्रष्टाचार गर्ने प्रयास
तारकेश्वरको स्वास्थ्य शाखाले जेष्ठ नागरिकहरुको आँखा तथा ल्याव परीक्षण कार्यक्रममा भएको भन्दा नभएको खर्च जोडेर नितिगत भ्रष्टाचार गरेको स्वास्थ्य शाखाको गोप्य स्रोतले जानकारी दिएको छ । स्वास्थ्य शाखाको ३ थरी विवरण हेर्दा भ्रष्टाचार गरेको कुरो प्रष्ट देखिन्छ ।
स्वास्थ्य शाखा प्रमुख विनोद कुमार शाहले उक्त कार्यक्रममा १५ लाख खर्च भएको बताईरहेका छन् भने शाखाका कर्मचारी कल्याण लामिछानेले १७ लाख ६ हजार खर्च भएको विवरण देखाएका थिए । तर वास्तविक खर्च भने १३ लाख ९८ हजार मात्र रहेको खुलासा भएको छ ।
यसरी नितिगत भ्रष्टाचारमा स्वास्थ्य शाखाका सम्पुर्ण कर्मचारीहरुको मिलेमतो रहेको पाईन्छ ।
शाखा प्रमुख शाह र कर्मचारी लामिछाने दुबैले बास्तविक हिसाब लुकाउन खोजेको भएपनि भ्रष्टाचारको पर्दा खुलेको छ ।
तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखा कार्यक्रम भन्दै भ्रष्टाचार गर्ने अखाडो नै भइसकेको छ ।
उक्त कार्यक्रममा भएको हिसाबको विवरण बारे माथिल्लो प्रशासन तथा जनप्रतिनिधि कसैलाई पनि जानकारी नभएको तारकेश्वर नगरपालिका सुचना अधिकृत होमनाथ न्यौपानेले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।
तारकेश्वर नगरपालिकामा विकासको काममा भन्दा पनि विभिन्न कार्यक्रम भन्दै खर्च गर्ने र त्यसको फर्जी विवरण बनाउँदै भ्रष्टाचार गर्ने क्रियाकलाप बढेको देखिन्छ ।
११ बैशाख २०७८, शनिबार