बालाजु बाइसधारा मेला कोरोना जोखिमका कारण यसवर्ष पनि रद्द
तारकेश्वर १४, वैशाख । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने काठमाडौंको बालाजु बाइसधारा मेला ‘ल्हुती पुन्ही’ कोरोना भाइरस (कोभिड–१९ ) संक्रमणको जोखिमका कारण यस वर्ष पनि रद्द भएको छ ।मेलामा आउने भक्तजनको भीडले कोरोना संक्रमणको जोखिम बढ्ने भएपछि मेला रद्द गरिएको हो ।
गत वर्ष पनि लकडाउनका कारण मेला लाग्न सकेको थिएन । मंगलबार केही भक्तजन पूजाआजाका लागि बाइसधारा पुगेको भएपनि उद्यानमा प्रवेश गर्न पूर्ण रुपमा रोक लगाइएको थियो ।
बाइसधारामा सर्वसाधारणलाई प्रवेश रोक लगाइएपछि दर्शनार्थीहरु उद्यान बाहिरैबाट पूजाआजा गरेर फर्किएका छन् । यस दिन बाइसधारामा स्नान गरी दिवङ्गत आफन्तका नाममा बत्ती बाल्ने परम्परा रहेको छ ।
हिन्दु धर्म अनुसार आजको दिन नुवाकोटको कडल्चोक भगवतीलाई बालाजुमा ल्याएर त्यहाँ रहेको सेतो पाटीमा राखी हवन तथा राँगाको बलि दिने प्रचलन पनि रहेको छ ।
आज बिहानै नागर्जुन बनमा रहेको जामाचो डाँडामा पुगेर बालाजु फर्की बाइसधारमा स्नान गर्ने र मनमैजु देवीको दर्शन गरेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक जनविश्वास पनि रहेको छ ।