चुनाव नजिकिँदै जाँदा स्थानीय सरकारकाे पपुलिस्ट निर्णय, नागार्जुनले नगरवासीलाई पैसा बाँड्ने
तारकेश्वर १६, वैशाख । काठमाडौंको नागार्जुन नगरपालिकाले कोभिड १९ पोजेटिभ परिवारलाई प्रतिपरिवार पाँच हजार दिने निर्णय गरेको छ । विहिबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकामा स्थायी बसोबास गर्ने वैशाख १६ गते देखि कोभिड १९ पोजेटिभ देखिएका नागरिकहरुलाई प्रतिपरिवार पाँच हजार दिने निर्णय गरेको नागार्जुन नगरपालिका उपमेयर शुशिला अधिकारीले तारकेश्वर अनलाईनलाई जानकारीदिइन् नागार्जुन नगरपालिकामा पाँच वटा स्वास्थ्य चौकी र पाँच वटा शहरी स्वास्थ्य केन्द्र गरि १० वटा स्वास्थ्य संस्थाहरु रहेको र सबै स्वास्थ्य संस्थाहरु सुविधा सम्पन्न रहेको उपमेयर अधिकारीले बताइन् । नागार्जुन नगरपालिकाले कोभिड १९ को जस्तोसुकै परिस्थितिको सामना गर्न सक्ने र सबै स्वास्थ्य सामग्रीहरुको व्यवस्थापन भइसकेको अधिकारीले दावी गरेकी छिन् । नागार्जुन नगरपालिकाले कोरोना भाइरस कोभिड १९ नियन्त्रणमा समुदाय स्तरमा जनचेतना मुलक कार्यक्रमहरू सञ्चालन गर्न थालिसकेको र समिति बनाएर काम गरिरहेको नगरपालिकाले बताएको छ । नागार्जुन नगरपालिकाले कोभिड १९ पोजेटिभ परिवारलाई वितरण गर्ने भनेको रुपैयाँ नगरपालिकाको कोभिड कोषबाट वितरण गर्नेछ । विहिबारको बैठकले नयाँ भेरियन्टको कोभिड १९ महामारी नियन्त्रण तथा रोकथाम गर्न नगरपालिकाको दस वटै स्वास्थ्य संस्थाहरुमा माक्स,स्यानिटाईजर अक्सिजन लगायतका स्वास्थ्य सामग्रीहरुको व्यवस्थापन गर्न कोभिड कोषको रकम नै खर्च गर्ने निर्णय गरेको छ । देशमा चुनावको समय नजिकिँदै गर्दा नागार्जुन नगरपालिकाले प्रतिपरिवार पाँच हजार रुपैयाँ बराबरको रकम वितरण गर्ने निर्णय गर्नु संकास्पद रहेको छ ।