संचार क्षेत्रसँग सहकार्य गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री पौडेल
२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संचार क्षेत्रसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको टोलीसँग बिहीबार भेटघाट गर्दै मुख्यमन्त्री पौडेलले संचार क्षेत्रका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले प्रदेश सरकारले संचार क्षेत्रको विकासमा यस अघि पनि विभिन्न योजना अघि सारेको र प्रदेशमै पहिलो प्रेस रजिष्ट्रार कार्यालय स्थापना गरेर त्यसमार्फत संचार क्षेत्रका समस्या समाधानमा टेवा पुगेको दाबी गरे ।मुख्यमन्त्री पौडेलले आगामी दिनमा पनि पत्रकार महासंघमार्फत समानुपातिक विज्ञापन, जिल्ला महासंघ शाखामा सूचना केन्द्र स्थापनाका लागि आगामी आर्थिक बर्षमै नीति तथा कार्यक्रम र बजेटमा व्यवस्थापन गरिनेछ, उनले भने सरकार पत्रकार र संचारमाध्यमको बृद्धि विकासका लागि सकारात्मक छ । मुख्यमन्त्री पौडेलसँग भेटघाटकै क्रममा महासंघका अध्यक्ष शिव देवकोटाले मुख्यमन्त्री पौडेलसमक्ष प्रस्ताव पत्र पेश गरेका छन् ।संचारग्राम निर्माण र संचालन, प्रदेशभित्र संचालित संचारमाध्यममा समानुपातिक विज्ञापन, संचारक्षेत्रलाई उद्योगमा समेटन र मान्यता दिनुपर्ने, सुत्केरी पत्रकार महिला र कोरोना संक्रमित पत्रकारलाई लेखनवृत्ति, स्नातक र स्नात्तकोत्तर अध्ययनका लागि संचारकर्मीलाई छात्रबृत्ति वितरणलगायत माग राख्दै प्रस्ताव पत्र बुझाइएको हो ।
भेटघाटमा महासंघका उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारु मगर, सदस्यहरु सुदीप शिवाकोटी र रामहरि गजुरेलको उपस्थिति रहेको पत्रकार महासघ बागमती प्रदेेस समितिका अध्यक्ष शिव देवकोटाले तारकेश्वर अनलाइनलाई जानकारी दिए।