रसुवामा कोरोना संक्रमितलाई बाेक्न पाँच एम्बुलेन्स तयारी अवस्थामा

रसुवा २६, वैशाख । रसुवा जिल्लामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण तिब्र रुपमा फैलिँदै गएपछि उपचार सेवालाई प्रभावकारी बनाउन एम्बुलेन्स सेवा तयारी अवस्थामा राखिएको छ ।
रसुवामा वैशाख ५ गते पछिल्लोपल्ट कोरोना सङ्क्रमण पुष्टि भएपछि बीस दिनको अन्तरालमा सङ्क्रमितको सङ्ख्या १५६ पुगेपछि एम्बुलेन्सलगायत उपचारमा आवश्यक पर्ने सबै प्रकारका स्वास्थ्य सामग्री व्यवस्थापन गरिएको हो ।
कोरोना सङ्क्रमितलाई छिटोभन्दा छिटो सुविधायुक्त अस्पताल पुयाउन पाँचवटा एम्बुलेन्स तयार गरिएको र नपुग भएको खण्डमा अन्य सवारी साधनसमेत परिचालन गरिने सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीले जानकारी दिइन् ।
स्वास्थ्यको मापदण्ड पूर्णरूपमा पालना गरी कोरोनाबाट बच्न र बचाउने कार्यमा सचेत रहन आग्रह गर्दै चिकित्सक एवं स्वास्थ्यकर्मीले दिएका सुझावलाई पालना गर्न केसीले सबैमा अनुरोध गरेकी छिन् ।
जिल्लाभित्र रहेका पाँच गाउँपालिकामध्ये गोसाइँकुण्डमा २४, उत्तरगयामा १५, कालिकामा ५९, आमाछोदिङ्मोमा ११ एवं नौकुण्डमा ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । रसुवाका एकजना कोरोना संक्रमितको उपचारका क्रममा नुवाकोटको त्रिशुली अस्पतालमा मृत्यु भएको थियो ।
आइतबार दिउँसो डिसिसिएमसी र जिल्ला प्रशासन कार्यालय रसुवाको बैठक बस्ने र थप निर्णयहरु हुने बताइएको छ ।