उपप्रधानमन्त्री पोखरेलद्वारा टोखाको राधा स्वामी भवनको आइसोलेसन केन्द्र निरीक्षण

तारकेश्वर २८ वैशाख । मंगलबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको टोखा नगरपालिका वडा नं. १० स्थित ‘राधा स्वामी भवनमा बनाईएको कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को निरीक्षण गरेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र डा. शंकरदास बैरागीलाई मंगलबार टेलिफोन गरेर आइसोलेसन केन्द्र संचालन गर्न उपप्रधानमन्त्री पोखरेलले निर्देशन दिएका छन् ।

साथै नेपाली सेनाले यसै साताबाट आइसोलेशन केन्द्र संचालनमा ल्याउने तयारी समेत गरिरहेको छ।
उक्त आइसोलेसन केन्द्रमा ८८ शैयाको अक्सिजन थेरापीसहितको सुविधा रहने बताइएको छ । आइसोलेसन केन्द्रको लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो ।
काठमाडौं महानगरपालिका र नेपाली सेनाको बजेट व्यवस्थापनमा उक्त आइशोलेशन केन्द्र संचालनमा ल्याउन लागिएको हो ।

सरकारले काठमाडौंमा रहेका ठूला भवनहरुलाई आइसोलेसन केन्द्रका रुपमा संचालन गरी कोरोना संक्रमितहरुको उपचार गर्ने रणनीति बनाइरहेको सिसिएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले बताए ।

मंगलबार भएको निरीक्षण कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञान माया डंगोल, वडा अध्यक्ष जगन्नाथ ढकाल लगायतको सहभागिता थियो ।